Gorkha Sansar

सांस्कृतिक झाँकी र अधिकारका मागसहित सम्पन्न भयो ३१औं आदिवासी दिवस

काठमाडौं । २४ साउन । देशभरका आदिवासी जनजाति समुदायहरूले आज ३१औं अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएका छन् । राजधानी काठमाडौंमा आयोजित मूल समारोहमा जातीय पहिचान, सांस्कृतिक झाँकी र अधिकारका माग विशेष रुपमा मुखरित भए ।

राष्ट्रिय सभागृहमा भएको मूल समारोह सुरु हुनु अघि भृकुटी मण्डपबाट झाँकी प्रदर्शन गरिएको थियो । विभिन्न समुदायका प्रतिनिधिहरू परम्परागत भेषभूषा र सांगीतिक उपकरणसहित टुँडीखेल परिक्रमा गर्दै सभागृह पुगेका थिए ।

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले हरेक वर्ष अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसअघि सन् १९९४ देखि २००४ सम्मको अवधि संयुक्त राष्ट्रसंघले ‘कर्म र मर्यादाका लागि दशक’ (International Decade of the World’s Indigenous People) भनेर घोषणा गरेको थियो । यस दिवसको आधिकारिक लोगो बङ्गलादेशका कलाकार रिबन देवानले डिजाइन गरेका हुन्, जसमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई घेरेको देखिन्छ ।

कार्यक्रममा सहभागीहरूले जल, जमिन र जंगलमा आदिवासी जनजातिको अग्राधिकार सुनिश्चित गर्न, स्वायत्त क्षेत्र कायम गर्न, र प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न सरकारलाई दबाब दिने प्रतिवद्धता जनाए । साथै, पाथीभारा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजना रोक्न माग समेत गरिएको छ ।

आदिवासी दिवसको अवसरमा देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, छलफल, र्याली र संगीत प्रस्तुति आयोजना गरिएको आयोजकहरूले जनाएका छन् । काठमाडौंको कार्यक्रममा विभिन्न संघ–संस्था, मानवअधिकारकर्मी र अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.