बाजुरा, २४ साउन । बाजुराको बडिमालिका मेलामा यस वर्ष करिब ५ हजार भक्तजनको उपस्थितिसँगै नेपाली सेनाले निःशुल्क स्वास्थ्य सहायता तथा शिविर सञ्चालन गरेको छ । ईश्वरीबक्स गुल्मले साउन २० गतेदेखि २३ गतेसम्म त्रिवेणी र बडिमालिका मन्दिर परिसरसहित तीन स्थानमा शिविर सञ्चालन गरेको हो ।
सेनाका अनुसार, मेलामा लेक लाग्ने, अक्सिजनको कमी तथा अन्य स्वास्थ्य समस्या हुने भक्तजनलाई आकस्मिक उपचारको व्यवस्था गर्न शिविर सञ्चालन गरिएको हो । यस अवधिमा ७५० भन्दा बढीले उपचार तथा स्वास्थ्य सेवा पाएका छन् । साथै, तीनजना बिरामीलाई उद्धार गरी घर पठाइएको सेनाले जनाएको छ ।
बडिमालिका मेलामा प्रत्येक वर्ष जनैपूर्णिमा अघि साउन शुक्ल चतुर्दशीका दिन ठूलो भीड लाग्ने गर्छ । भक्तजनहरू कतिपय एक हप्तादेखि पैदल यात्रामा निस्केर मेला स्थल पुग्ने गरेका छन् । गुल्मपती कृष्ण तिमिल्सिनाका अनुसार, उच्च भूभागमा अक्सिजनको कमीका कारण स्वास्थ्य समस्या देखिने भएकाले विगत वर्षझैं यसपटक पनि निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
सेनाले मेलाका सहभागीहरूको सुविधा लागि बाटोमा सूचना तथा खानेपानीको व्यवस्था, अस्थायी शौचालय निर्माण, टेन्टमार्फत बासको सुविधा, भिड व्यवस्थापन, शान्ति–सुरक्षा र मेलापछि सफाइ अभियानसमेत सञ्चालन गरेको छ ।
यस वर्षको मेलामा ५ हजारको हाराहारीमा भक्तजन सहभागी भए पनि फर्कने क्रममा दुःखद घटना भएको छ । दर्शनबाट फर्किँदै गरेका दुई जनाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।