सुनसरी, २४ साउन । सुनसरीको इटहरी–धरान सडकखण्डस्थित पानीपिया जंगलमा आज बिहान बस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर आपसमा ठोक्किँदा झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक (चालक) र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए ।
घाइते दुवैलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। तर, उपचारका क्रममा आज दिउँसो १२:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए ।
घटनापछि बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।