मोरङ, २२ साउन । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
बिराटचोकबाट गछियातर्फ जाँदै गरेको मे १ ख २७९६ नम्बरको सुर्योदय कम्पनीको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको केरा बोकेको प्र १–०२–००४ ह ४२२४ नम्बरको सिटी सफारीलाई बेलगाछी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ६१ वर्षीय तुलसीप्रसाद गुरागाईको नोबेल अस्पताल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी सफारीका चालक, सुनसरीको दुहबी नगरपालिका–५ का ४२ वर्षीय बलबहादुर लिम्बु गम्भीर घाइते छन् र उनी पनि नोबेल अस्पतालमै उपचाररत छन् ।
बसमा सवार अन्य यात्रुहरू भने सकुशल रहेका छन्। प्रहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हो। बस र चालक, सुन्दरहरैँचा–७ का ४२ वर्षीय लेप्चन साहलाई नियन्त्रणमा लिइएको छ ।