भारतको उत्तराखण्डमा गत मंगलबार आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका धादिङका चार जना सकुशल परिवारको सम्पर्कमा आएका छन् ।
ज्वालामुखी गाउँपालिका–२ काफलपानीका ५३ वर्षीय लालबहादुर तामाङ, ६५ वर्षीय छोलामा तामाङ, ५५ वर्षीय फेलामा तामाङ र ४८ वर्षीय सिंहबहादुर तामाङ सम्पर्कमा आएको वडा सदस्य धनबहादुर तामाङले जानकारी दिए ।
प्रहरी चौकी मैदीका इन्चार्ज सई उपेन्द्र यादवका अनुसार उनीहरू बाढी प्रभावित धराली बजारमा काम गर्दै आएका थिए। बाढी आएपछि अन्यत्र आश्रय लिएका उनीहरू नेटवर्क समस्या भएका कारण परिवारसँग सम्पर्क गर्न नसकेका हुन् ।
बाढीपछि उनीहरू नजिकैको सेनाको ब्यारेकमा पुगेपछि मात्र सम्पर्कमा आएका र परिवारलाई सकुशल भएको जानकारी गराएका प्रहरीले जनाएको छ ।