Gorkha Sansar

बुवाको संस्कारमा छोरीहरूको काँध, भिमबहादुर क्षेत्रीको जीवनले दिएको समानताको पाठ

दमौली (तनहुँ), २२ साउन  तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाढाबमा केही दिनयता एउटा दृश्यले धेरैको मन छोएको छ—कपाल खौरिएका टाउका, सेतो लुगा र मौन अनुहारमा बसेका दुई छोरीहरू २५ वर्षीया निशा र २१ वर्षीया अनिशा आफ्ना स्व. पिता भिमबहादुर क्षेत्रीको काजकिरियामा आमासँगै सहभागी छन् ।

नेपाली समाजमा छोरा नभएमा मात्र छोरीहरूले संस्कार गर्ने अपवादहरू देखिँदै आए पनि, यहाँ छोरीहरूले आफैँले बाबुलाई काँध दिए, दागबत्ती दिए र १३ दिनसम्म काजकिरिया पनि बस्दै छन् ।

निशा र अनिशाले परम्परागत संस्कारमा सहभागी भएर न केवल सामाजिक सन्देश दिएका छन्, बरु लैङ्गिक समानताको सशक्त उदाहरण पनि पेश गरेका छन् ।

तर यो प्रेरणा उनीहरूलाई बाबु भिमबहादुरबाटै मिलेको हो । २९ वर्षकै उमेरमा ब्लड क्यान्सर पीडित भए पनि उनले कहिल्यै आत्मबल गुमाएनन्। सानो होटल चलाएर छोरीहरूको पढाइ र आफ्नो उपचार सँगसँगै अघि बढाए । श्रीमतीको साथ र बाख्रापालनको सहाराले उनले १८ वर्षसम्म रोगसँग लड्दै छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पठाए ।

छोरीहरू अन्तिम अवस्थाको खबर पाएपछि नेपाल फर्किए । अन्ततः गत बुधबार ४७ वर्षको उमेरमा भिमबहादुरको निधन भयो ।

अन्त्येष्टिमा छोरीहरूले बाबुलाई काँध दिएर घाटसम्म पुर्‍याए, दागबत्ती दिए र आमासँगै काजकिरिया पनि बसे । यस घटनाले समाजमा नयाँ सोचको ढोका खोलेको छ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेले घटनालाई सकारात्मक सामाजिक सन्देशको रूपमा हेरेका छन् । उनका अनुसार, “कानुनी र धार्मिक दृष्टिले पनि छोरीले बाबुको संस्कार गर्न सक्छ भन्ने सन्देश यो उदाहरणले दिएको छ ।”

भिमबहादुरको जीवन संघर्ष र उनकी छोरीहरूको संस्कारमा सहभागिताले परम्परागत सोचमा चुनौती दिनुका साथै, समाजलाई समानता र मानवताको पाठ सिकाएको छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.