एजेन्सी — अस्ट्रेलियामा आयोजना हुने टप इण्ड टी–२० सिरिजका लागि बंगलादेश ‘ए’ टोलीको घोषणा भएको छ। यस सिरिजमा बंगलादेश ‘ए’ टोलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित अन्य अन्तर्राष्ट्रिय तथा एकेडेमी टिमहरूसँग प्रतिस्पर्धा गर्नेछ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सोमबार १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीको कप्तानी अनुभवि विकेटकिपर ब्याट्सम्यान नुरुल हसन सोहनले गर्नेछन्। सार्वजनिक टोलीमा राष्ट्रिय टोलीमा खेलिसकेका धेरै खेलाडी पनि समावेश छन्।
सिरिज १४ देखि २४ अगस्टसम्म अस्ट्रेलियाको नर्दन टेरिटोरीमा हुनेछ। बंगलादेश ‘ए’ ले उद्घाटन खेल १४ अगस्टमा पाकिस्तान ‘ए’ सँग खेल्नेछ। नेपालले १६ अगस्ट (साउन ३१) मा बंगलादेश ‘ए’ सँग खेल्ने कार्यक्रम छ।
नेपालले सोमबार रोहित कुमार पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ। नेपाल यस प्रकारको सिरिजमा पहिलो पटक सहभागी हुँदैछ भने बंगलादेश ‘ए’ अघिल्लो संस्करणको उपविजेता टोली हो।
यस टप इण्ड सिरिजमा ११ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’, अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान, साथै बिग ब्यास लिग (BBL) का हर्बर्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार, मेलवर्न रेनेगड्सका एकेडेमी टोलीहरू छन्। साथै दुईवटा स्थानीय टोलीहरू पनि प्रतियोगितामा सहभागी हुनेछन्।
नेपालको खेल तालिका अनुसार:
- अगस्ट १५ (साउन ३०): नर्दन टेरिटोरी स्ट्राइकसँग
- अगस्ट १६ (साउन ३१): बंगलादेश ‘ए’सँग
- अगस्ट १८ (२ भदौ): मेलवर्न स्टार एकेडेमी टिमसँग
- अगस्ट १९ (३ भदौ): हर्बर्ट हरिकेन्स एकेडेमी टिमसँग
- अगस्ट २० (४ भदौ): मेलवर्न रेनेगड्स एकेडेमी टिमसँग
- अगस्ट २२ (६ भदौ): पाकिस्तान ‘ए’सँग
समूह चरणपछि शीर्ष चार टोलीबीच सेमिफाइनल हुनेछ भने सेमिफाइनल र फाइनल खेलहरू २४ अगस्ट (८ भदौ) मा हुनेछ।
बंगलादेश ‘ए’ टोली यसप्रकार छन्:
नुरुल हसन सोहन (कप्तान), मोहम्मद सैफ हसन, मोहम्मद नैम, जिशान आलम, महिदुल इस्लाम भुइयान, यासिर अली चौधरी, अफिफ हुसेन ध्रुबो, तुफयल अहमद, मोहम्मद मृत्युन्जय चौधरी, रकिबुल हसन, महफुजुर रहमान रब्बी, नईम हसन, मुस्फिक हसन, रिपन मन्डोल, हसन महमुद।