Gorkha Sansar

५ करोडभन्दा बढी ठगी गरी सहकारीका अध्यक्षसहित ७ जना फरार, मुद्दा दायर

काठमाडौं, २० साउन । काठमाडौं महानगरपालिका–१० स्थित न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरूले करिब पाँच करोड रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार भएका छन् ।

फरार भएकामध्ये अध्यक्ष ४३ वर्षीय दमन्ता घिमिरे, सचिव ३८ वर्षीय अमृत कटुवाल, सहसचिव २५ वर्षीय गोपाल अधिकारी, कोषाध्यक्ष ४४ वर्षीया भारती न्यौपाने गौतम, सदस्य २९ वर्षीया अनिता थापा, सदस्य ३८ वर्षीय रोहित खड्का र अन्य एक पदाधिकारी रहेका छन् ।

उनीहरू लामो समयसम्म सम्पर्कविहीन भएपछि काठमाडौं जिल्ला अदालतमा फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको हो । यसअघि पनि २६ माघ २०८० मा १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

पछिल्लो अनुसन्धानमा थप पाँच करोड रुपैयाँ अपचलन भएको खुलेपछि प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले ठगी मुद्दा दायर गरेको हो । सहकारीबाट १५ जना बचतकर्ताहरूको कुल चार करोड ८० लाख २३ हजार २८६ रुपैयाँ ठगी गरिएको पाइएको छ ।

सुरेशकुमार पौदार नाम गरेका एक बचतकर्ताबाट मात्रै १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरिएको उल्लेख छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अनुसार, ठगीको दोषी ठहरिए सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, आरोपितहरूले धितोबिना ऋण दिएर रकम आपसी मिलेमतोमा बाँडफाँड गरी नतिरी फरार भएका हुन् ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.