काठमाडौं – नेकपा (माओवादी केन्द्र) को तीन दिनसम्म चलेको स्थायी समिति बैठक शनिबार सम्पन्न भएको छ । बैठकपछि उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण र सुदृढीकरणबारे व्यापक छलफल भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “पार्टी निर्माण र सुदृढीकरणका विषयमा व्यापक बहसका बीच स्थायी समिति बैठक सफलतापूर्वक सम्पन्न भयो ।” तर उनले बैठकमा उठेका गम्भीर विषयमा थप प्रतिक्रिया दिएका छैनन् ।
तर स्थायी समिति बैठकको केन्द्रमा भने स्वयं उपमहासचिव शर्माको भूमिका, अभिव्यक्ति र पछिल्लो गतिविधि रहे । स्रोतका अनुसार ४६ स्थायी समिति सदस्यमध्ये अधिकांशले शर्मामाथि टिप्पणी गरेका थिए ।
शर्मामाथि दबाब, आत्मालोचनाको आग्रह
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेतले शर्मालाई आत्मालोचना गर्न आग्रह गरेका थिए ।
“आत्मालोचना करकापको विषय होइन,” प्रचण्डले भनेका थिए, “तपाईंलाई रियलाइजेशन छ भने आत्मसमीक्षा गर्नुस् । स्थायी समितिको भावना पनि त्यही हो ।”
शर्माले भने आत्मालोचना गर्न अस्वीकार गर्दै सबैले कमजोरी स्वीकार्नुपर्ने अडान दोहोर्याए । उनले भने, “म आफ्ना कमजोरीको जिम्मेवारी लिन्छु तर सबैका कमजोरी छन् ।”
यद्यपि शर्माले यसपटक पार्टी बैठकको माइन्यूटमा हस्ताक्षर गरेका छन् । उपमहासचिव पद स्वीकार नगर्ने र अघिल्ला बैठकमा माइन्यूटमा हस्ताक्षर नगरेका शर्माको यो निर्णयलाई पार्टीभित्र सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
‘फुट’को आशंका निराकरण, तर तनाव कायमै
उपमहासचिव वर्षमान पुनका अनुसार, बैठकबाट माओवादी फुट्ने भन्ने चर्चा र जनार्दन शर्मामाथि कारबाही हुने अनुमान खारेज भएको छ ।
“पार्टीभित्र विश्वासको वातावरण बनेको छ । गुट र उपगुट नगर्ने सहमति बनाइएको छ,” पुनले भने ।
तर बैठकले पार्टी र नेतृत्वविरुद्ध जथाभावी अभिव्यक्ति दिने प्रवृत्तिमा रोक लगाउने निर्णयसमेत गरेको छ । उपमहासचिव हरिबोल गजुरेलका अनुसार, पार्टी अनुशासन विपरीत अभिव्यक्तिप्रति नेताहरूलाई सचेत गराइएको हो ।
शर्मामाथि केन्द्रित निर्णयहरूमध्ये यो पनि एक हो, किनभने उनले नेतृत्व परिवर्तनको एजेण्डा उठाउँदै आएका छन् । गत वर्ष साउनमा उनले अध्यक्ष प्रचण्डको भूमिकामाथि प्रश्न उठाउँदै नेतृत्व हस्तान्तरणका तीन विकल्पसहितको फरक प्रस्ताव पेश गरेका थिए ।
महाधिवेशनको सम्भावना टर्दै
बैठकपछि विशेष महाधिवेशनको एजेण्डा समेत कमजोर देखिएको छ । सचिव देवेन्द्र पौडेलका अनुसार अब विशेषभन्दा पनि नियमित महाधिवेशनबारे छलफल हुने संकेत देखिएको छ ।
दशैंपछि बस्ने केन्द्रीय समितिबाट महाधिवेशनको मिति तय हुने भनिए पनि यो प्रक्रिया अझै लम्बिने देखिएको छ ।
शर्माको एजेण्डा अझै बाँकी
यद्यपि एक नेताको विश्लेषणमा भने प्रचण्डले चाहेजस्तो निर्णय गर्न नसकेको उल्लेख छ ।
“जनार्दन शर्मालाई आत्मालोचना गराउने वा कारबाही गर्ने योजना थियो। तर न उनले आत्मालोचना गरे, न कारबाही भयो । त्यसैले शर्माको एजेण्डा अझै बाँकी नै छ,” ती नेताले भने ।
यस्तो अवस्थामा स्थायी समितिबाट तत्काल संकट टरे जस्तो देखिए पनि पार्टीभित्रको अन्तरविरोध अझै पूर्णरूपमा समाधान भएको देखिँदैन । त्यसैले “मन माझियो” भन्ने निष्कर्षमा पुग्न अझै समय लाग्ने देखिन्छ ।