Gorkha Sansar

प्रतिनिधिसभा बैठक आज, राष्ट्रपतिबाट फिर्ता पठाइएको विधेयकमाथि पुनर्विचार हुने

काठमाडौं / सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा हालै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा फिर्ता पठाइएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को विषयमा विशेष जानकारी प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रपतिबाट संविधानको मर्म, भावना र लोकतान्त्रिक मूल्य-मान्यता विपरीत रहेको भन्दै विधेयक फिर्ता पठाइएपछि संसद्मा यसको पुनर्विचार हुने तयारी छ । राष्ट्रपति पौडेलले संविधानको धारा ११३(३) अनुसार पाँचवटा आधार प्रस्तुत गर्दै विधेयक पुनर्विचारको लागि प्रतिनिधिसभामै फिर्ता पठाएका थिए ।

बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदनमा उल्लिखित सिफारिसलाई स्वीकृति दिन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव ल्याउने तयारी छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता अनुमोदन’ को प्रस्ताव पनि पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रपतिबाट फिर्ता गरिएको विधेयक अब पुनः प्रतिनिधिसभामा छलफलपछि निर्णय हुनेछ। त्यसपछि राष्ट्रियसभामा पठाइनेछ र अन्तिममा दुबै सदनले पारित गरेपछि सभामुखमार्फत प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुनः पेस गरिने संवैधानिक प्रक्रिया तय गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.