१८ साउन, काठमाडौं / पछिल्ला दुई महिनामा लम्पी स्किन रोग पुनः सक्रिय बन्दै गएको छ । देशभर हालसम्म २२ हजार २ सय ५६ गाईभैंसीमा लम्पी स्किन रोग संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । तीमध्ये ६३६ गाईभैंसीको मृत्यु भइसकेको छ ।
विभागका अनुसार संक्रमितमध्ये १२ हजार ३ सय २ पशु उपचारपछि निको भइसकेका छन् भने ७ हजार ८ सय ६६ गाईभैंसी अझै संक्रमित छन् ।
सबैभन्दा बढी संक्रमण कोशी प्रदेशमा देखिएको छ । यहाँ २२ हजार १ सय २२ गाईभैंसीमा संक्रमण देखिएको छ भने ६३७ मरेका छन् । संक्रमितमध्ये २ सय २४ वटा राँगा र भैंसी छन् भने बाँकी २१ हजार ८ सय ९८ गाईगोरु छन् ।
झापा, मोरङ, सुनसरी, इलाम, भोजपुर, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, उदयपुर र खोटाङ गरी ११ जिल्लामा संक्रमण फैलिएको छ । सबैभन्दा धेरै झापामा १४ हजार ६ सय ९२ पशु प्रभावित छन् । मोरङमा २ हजार ४ सय ३६ र सुनसरीमा १ हजार ७ सय ५७ पशु संक्रमित छन् ।
पछिल्लो एक साता (११ साउनयता) मा मात्रै १ हजार ५ सय ३२ पशुमा नयाँ संक्रमण देखिएको छ भने ८२ को मृत्यु भएको छ ।
कोशी प्रदेशमा हालसम्म ३ लाख १२ हजार ६ सय ४१ डोज लम्पी स्किनविरुद्धको खोप दिइएको छ । यद्यपि अझै खोप नलगाएका र साना बाच्छाबाच्छीमा संक्रमण दर उच्च रहेको पशु चिकित्सकहरूको भनाइ छ ।
विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ का लागि १४ लाख ६० हजार डोज खोप खरिद गरिएको थियो, जसमा १४ लाख ३९ हजार डोज वितरण भइसकेको छ । अब विभागसँग २१ हजार डोज मात्रै बाँकी छ ।
पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीका अनुसार खोप नै रोग नियन्त्रणको प्रमुख उपाय हो । “अहिले देखिएको संक्रमण खोप नलगाएका र साना पशुमा मात्र हो,” उनले भने, “खोप लगाएका पशुमा रोग देखिएको छैन ।”
लम्पी स्किन रोग नेपालमा पहिलो पटक २०७७ सालमा मोरङको सुन्दरहरैंचामा देखिएको थियो । त्यसयता यो रोग ७७ वटै जिल्लामा फैलिइसकेको छ ।
विगतमा यो रोगले अत्यधिक श्रममा खटिने गोरु, पाडापाडी, बाच्छाबाच्छी र गर्भवती गाईभैंसीलाई बढी असर गरेको थियो ।
पशु चिकित्सा परिषद्को अध्ययन अनुसार एक स्वस्थ पशुमा संक्रमण भएमा औसतमा ४९ हजार १ सय ३५ रुपैयाँ बराबरको क्षति हुने देखिएको छ ।
नेपालमा करिब ३१ लाख गाई र ४७ लाख भैंसी छन् । दुई वर्षअघि लम्पी स्किनको महामारीका कारण १५ लाखभन्दा बढी पशु संक्रमित हुँदा किसानहरूले ७४ अर्ब ६७ करोड बराबरको क्षति व्यहोर्नुपरेको थियो ।
लम्पी स्किन रोगको लक्षणमा ज्वरो, झोक्राउने, दूध कम उत्पादन, छालामा गिर्खा देखिनु, घाउ, आँखाबाट पानी आउनु, लिम्फनोड सुन्निनु र अन्ततः मृत्यु हुने जस्ता समस्या देखिन्छन् ।