गोरखा, श्रावण १६ गते
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ मा लगाइएको ताला खत्रीटार सहरी स्वास्थ्य केन्द्रबाट सेवा सुचारु गर्ने सहमति पश्चात करिब ३ घण्टापछि खुलेको छ।
खत्रीटार सहरी स्वास्थ्य केन्द्रका सेवाग्राही स्थानीयहरू आक्रोशित हुँदै वडा नम्बर ७ को कार्यालयमा आएर बिहान करिब साढे ११ बजेतिर तालाबन्दी गरेका थिए । वडा कार्यालयमा गरिएको तालाबन्दी पश्चात एउटा बस नै रिजर्भ गरेर नगरपालिका कार्यालय पुगेका स्थानीयहरूसँग नगरप्रमुख सहितको वार्ता टोलीसँग कुराकानी गरी आगामी साउन १८ गते आइतबारदेखि सेवा सुचारु गर्ने मौखिक सहमति भएको वार्ता टोलीका एक सदस्य दयाराम लामिछानेले बताउनुभयो।
स्थानीयहरूका तर्फबाट वार्ता टोलीमा खत्रीटार टोल विकास संस्थाका अध्यक्ष श्यामकाजी खत्री, जयराम खत्री, विष्णु प्रसाद घिमिरे, उपेन्द्र खत्री, जग्गादाता नन्दकुमारी खत्री रहेको बताइएको छ। त्यस्तैगरी समस्या समाधानका लागि नगर प्रमुख विवश चिन्तन को नेतृत्वमा उपप्रमुख बन्दना पाण्डे, वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमाल, वडा सदस्यहरू प्रेम बहादुर कुमाल र खोप बहादुर थापा लगायतका रहेका थिए ।
यसअघि खत्रीटार सहरी स्वास्थ्य केन्द्र बाट नजिकको दुरीमा रहेको भोटे काटेमा रहेको स्वास्थ्य चौकीको स्तर उन्नति गरी डाक्टरसहितको सुविधा दिने पालिकाको निर्णय बमोजिम केही स्वास्थ्य संस्थाहरूलाई मर्ज गरिएको थियो । स्थानीय नन्दकुमारी खत्रीले स्वास्थ्य संस्था स्थापना गर्नको लागि जग्गा दान गरेपश्चात उक्त स्थानमा २०७४ साल फागुन १० गतेदेखि सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएकोमा हाल स्थानीयहरूलाई कुनै पनि जानकारी नै नगराईकन एक्कासी मर्ज गरिएको भन्दै जग्गादाता खत्रीको नेतृत्वमा स्थानीयहरूले स्वास्थ्य केन्द्रमा गत असार ३० गते नै ताला लगाएका थिए।
आजै भएको वार्ता अनुसार खत्रीटार सहरी स्वास्थ्य केन्द्रबाट नजिक रहेको वडा नम्बर ६ स्थित भोटे काटेमा डाक्टर सहितको सुविधा उपलब्ध नहुन्जेलसम्मका लागि एकजना कर्मचारी मार्फत सेवा प्रदान गरिने सहमति भएको वडा सदस्य प्रेमबहादुर कुमालले जानकारी दिनुभयो ।