काठमाडौं, १५ साउन । झन्डै ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा अवस्थित सहकारीमा अध्यक्ष रहेका केसीमाथि संस्थाका बचतकर्ताहरूको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको गम्भीर आरोप छ ।
दोलखा जिल्लाको मेलुङ गाउँपालिका–६ स्थायी घर भएका ३४ वर्षीय केसीलाई भक्तपुरबाट नियन्त्रणमा लिएर रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाले जानकारी दिए ।
यस प्रकरणमा केसीसहित संलग्न व्यक्तिहरूविरुद्ध गत २०८१ वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थियो ।
अहिले उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।