काठमाडौं, ४ साउन । वीर अस्पतालको दन्त विभागमा ब्रेसेस बाँध्ने सेवा एक वर्षदेखि ठप्प छ । नयाँ सेवाग्राहीका लागि उपचार सेवा अवरुद्ध हुँदा सयौं बिरामी पर्खिरहेका छन् ।
सामग्री अभाव र खरिद प्रक्रियाको ढिलाइका कारण सेवा सञ्चालन हुन नसकेको अस्पताल स्रोतले जनाएको छ । ढिला गरी आएका केही सामग्रीहरू गुणस्तरहीन भएकाले फिर्ता पठाइएका छन् ।
१८ वर्षीया गीता घिमिरे ६ महिनादेखि पालो कुर्दै आएकी छन् । “यहाँ राम्रो उपचार हुन्छ भनेर पर्खिरहेकी छु, तर वर्ष दिन हुन लाग्यो,” उनले गुनासो गरिन् ।
अस्पतालका एक कर्मचारीका अनुसार विभागले माग गरेको मापदण्ड अनुसारका सामग्री नआएकाले ब्रेसेस सेवा हालसम्म सुरु हुन सकेको छैन । “हामीले मागेजस्तो सामान नआएपछि फिर्ता गर्यौं, तर गुणस्तरीय सामग्री अझै आएको छैन,” उनले बताए ।
उक्त कर्मचारीका अनुसार फलोअपमा आएका बिरामीहरूको उपचार भइरहेको छ, तर नयाँ केस लिन सकिएको छैन ।
खरिद शाखा र व्यवस्थापनको समन्वय अभावले समस्या झनै चुलिएको छ । “सप्लायर्सलाई दबाब दिनु पर्ने ठाउँमा उल्टै चिकित्सकमाथि उपचार थाल्न दबाब आउँछ,” एक कर्मचारीले आरोप लगाए ।
दन्त विभागमा अहिले सामान्य मेटल ब्रेसेसको शुल्क ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरिन्छ, जुन निजी अस्पतालमा एक लाखभन्दा बढी पर्ने गर्छ । त्यसैले वीर अस्पतालमा सेवा बन्द हुँदा आर्थिक रूपमा कमजोर वर्ग बढी प्रभावित भएका छन् ।
दन्त विभाग प्रमुख डा. प्रमोद कोइरालाले भने टेन्डर प्रक्रियाबाट सामान आइसकेको र शाखाका चिकित्सकहरूले नै सामान माग गर्ने भएकाले आफूलाई धेरै जानकारी नभएको बताए ।
अस्पताल निर्देशक डा. दिलीप शर्माले सप्लायर्सले समयमै सामग्री नदिँदा सेवा प्रभावित हुनसक्ने स्वीकार गरे । तर, गुणस्तरको विषयमा भने स्पष्ट जानकारी नभएको बताए ।
“खरिदको विषयमा छुट्टै समिति छ, मैले डिटेलमा जानकारी पाएको छैन,” उनले भने ।
वीर अस्पतालको दन्त विभागमा हाल ६ वटा शाखाहरू रहेका छन् । त्यस मध्ये ब्रेसेस बाँध्ने सेवा पूर्णरूपमा बन्द हुँदा सर्वसाधारणले उपचारको प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।