न्युयोर्क, १२ साउन — संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मध्य म्यानहट्टनको एक गगनचुम्बी भवनमा सोमबार भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार हमलाकारीले भवनभित्र छिरेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
न्युयोर्कका मेयर एरिक एडम्सले घटनास्थल नजिकको अस्पतालमा राति आयोजित पत्रकार सम्मेलनमा मृतकमध्ये एकको अवस्था गम्भीर भएपछि पछि निधन भएको जानकारी दिए । हमलाकारीले अन्ततः आफ्नै ज्यान लिएको बताइएको छ ।
प्रहरी आयुक्त जेसिका टिस्चका अनुसार आक्रमणकारी एम–४ राइफल बोकेर कालो बिएमडब्लु कारबाट ओर्लिएको, भवनमा छिरेर तत्कालै एक प्रहरी अधिकारीमाथि गोली चलाएको भिडियो फुटेजमा देखिएको छ ।
बन्दुकधारीको पहिचान लास भेगास निवासी शेन तमुरा भनेर गरिएको छ । उनको गाडीबाट औषधि, रिभल्भर, म्यागजिन र गोलाबारुद बरामद गरिएको छ । टिस्चका अनुसार तमुराको मानसिक स्वास्थ्यसम्बन्धी पुरानो इतिहास भए पनि नेभाडामा उनको बन्दुक राख्ने अनुमति वैध थियो ।
मृत्यु भएका प्रहरी अधिकारी ३६ वर्षीय बङ्गलादेशी आप्रवासी रहेको जनाइएको छ । अन्य मृतकमध्ये दुई पुरुष र एक महिला रहेका छन्। अर्को एक पुरुष गम्भीर घाइते छन् ।
घटनाका बेला कार्यालयमा रहेका कर्मचारी शाद साकिबका अनुसार उनी काम सकाएर सामान प्याक गरिरहेका थिए, त्यत्तिकैमा सार्वजनिक चेतावनी घोषणामार्फत आफू र सहकर्मीहरूलाई सुरक्षित बस्न निर्देशन दिइएको थियो ।
संयुक्त राज्य अमेरिकामा यस्ता सामूहिक गोलीकाण्ड सामान्यजस्तै बन्दै गएका छन् । गन भायोलेन्स आर्काइभका अनुसार सोमबारको घटनासहित अमेरिकामा यो वर्षमात्र २५४ वटा सामूहिक गोलीबारी भइसकेका छन् । यी घटनामा कम्तीमा चार वा सोभन्दा बढी व्यक्ति गोली लागेका हुन्छन् ।
बीबीसी