झापा, मङ्गलबार, १३ साउन २०८२— पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक स्तरोन्नतिको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन । हालको गतिमा काम जारी रहेमा तीन वर्षभित्र सम्झौता अवधि भित्रै योजना सम्पन्न नहुने प्रबल सम्भावना देखिएको छ ।
एसियाली विकास बैंकको ८४.९ प्रतिशत ऋण र नेपाल सरकारको १५.१ प्रतिशत लगानीमा निर्माण भइरहेको यो योजना १२० किलोमिटर लम्बाइको हो । यसमध्ये ९५.७६ किलोमिटरमा मात्रै काम सुरु गरिएको छ । योजनाअनुसार सहरी क्षेत्रमा चार लेन सडक, तीन मिटर चौडा डिभाइडर र दुवैतर्फ सर्भिस लेनसहित ५० मिटर चौडा सडक बन्नेछ । अर्धसहरी क्षेत्रमा ३३ मिटर र अन्य क्षेत्रमा २४ मिटर चौडाइको चार लेन सडक निर्माण हुनेछ ।
सडक योजनालाई पूर्वी (काँकडभिट्टा–केर्खा) र पश्चिमी (केर्खा–इटहरी) गरी दुई भागमा बाँडिएको छ। हालसम्म पूर्वी खण्डमा २१.१० प्रतिशत र पश्चिमी खण्डमा २५ प्रतिशत मात्र प्रगति भएको छ, जबकी दुबै खण्डमा ३० प्रतिशत प्रगति हुनु पर्ने थियो ।
पूर्वी खण्डको काम १० अर्ब ६ करोडमा इभरस्कोन–कालिका जेभीले २०८० कात्तिकमा सम्झौता गरेको हो। हालसम्म अधिकांश साना पुल निर्माणाधीन छन् भने केही कल्भर्ट, ड्रेन र बेसको काम सम्पन्न भइसकेको छ। तर, माटोको अभाव, विद्युत पोल स्थानान्तरणमा ढिलाइ, र साइट क्लियर नहुँदा काममा अवरोध भएको इञ्जिनियर आश्रय महतले जानकारी दिए ।
पश्चिम खण्डका प्याकेज २, ३, र ५ अन्तर्गतको निर्माणको औसत प्रगति २५ प्रतिशत रहेको इञ्जिनियर पल्लव श्रेष्ठले बताए । ५०.७६ किलोमिटर दूरीमा २८ साना पुलमध्ये चारवटा, ६५ कल्भर्ट, केही सब बेस, बेस र कालोपत्र सम्पन्न भएको छ। तर, निर्माण सामग्रीको अभाव र स्थानीय सहजीकरण नहुनुले पनि प्रगति धीमा बनाएको छ ।