काठमाडौं, १२ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा (विप्लव) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आइतबार बिहान पोखरेल निवासमा दुई घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ। भेटमा कम्युनिस्ट आन्दोलन, समाजवादी मोर्चा र कृषि कर्म लगायतका विषयमा गहिरो छलफल भएको थियो।
पोखरेल निवासमा बिहान ९ बजे पुगेका विप्लवलाई स्वागत गर्दै महासचिव पोखरेलले उनको कृषि कर्मको प्रशंसा गरेका थिए । “कमरेडको खेती प्रणालीले देशभर राम्रो सन्देश गएको छ,” भेटमा सहभागी एमाले अन्तर्राष्ट्रिय विभाग सदस्य गोपाल खनालले पोखरेलको भनाइ उद्धृत गर्दै भने, “उत्पादन र नाफाबीच तालमेल मिलाउन सकियो भने झन् राम्रो हुनेछ ।”
पोखरेलले विप्लवको उत्पादन संस्कृतिलाई सकारात्मक रूपमा लिएको बताए । विप्लवले पनि पोखरेललाई ‘दोस्रो पुस्ताका वैचारिक नेता र स्पष्ट वक्ता’ भन्दै प्रशंसा गरेका थिए ।
कम्युनिस्ट ध्रुवीकरण र प्रचण्डप्रति असन्तुष्टि
भेटको आयोजना एमालेका गोपाल खनाल र नेकपाका खगेश्वर केसीले गरेका थिए। दुबै नेता छलफलमा सहभागी थिए । खनाल र केसीले छलफलका सबै बुँदा खुलाउन चाहेनन् तर स्रोतका अनुसार भेटमा नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको पार्टीबीचको सम्भावित एकता, प्रचण्डको नेतृत्वशैली, र समाजवादी मोर्चाको निष्क्रियता मुख्य विषय बने ।
विप्लवले प्रचण्डप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, “सुरुमा एकताको राम्रो कुरा भएको थियो, मलाई महासचिव बनाउने पनि भनिएको थियो । तर अहिले अवस्था हेर्दा उहाँको चाहना नदेखिएको जस्तो लाग्छ।”
पोखरेलले पनि प्रचण्डप्रति अविश्वास व्यक्त गर्दै समाजवादी मोर्चा आफ्नो स्वार्थ अनुसार चलाइएको आरोप लगाए। “सरकारमा पुगेपछि प्रचण्ड र माधव नेपालले मोर्चाको उद्देश्य भुलेका छन्,” पोखरेलले भनेको स्रोतले जनाएको छ।
विप्लवले पोखरेलको सैद्धान्तिक क्षमतालाई आगामी कम्युनिस्ट एकता र ध्रुवीकरणमा प्रयोग गर्न सुझाव दिएका थिए । साथै, ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको र उनका कार्यकर्ता अझै जेलमा रहेको विषयमा ध्यानाकर्षण गराएका थिए ।
पोखरेलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने बताएपछि विप्लव अर्को बैठकतर्फ लागेका थिए । सोही दिन विप्लवले माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’सँग पनि भेट गरेका थिए ।