Gorkha Sansar

कर्णाली बैंक घोटाला : सवा ३ अर्ब हिनामिनामा १११ जनामाथि मुद्दा सिफारिस

काठमाडौं, ११ साउन। सवा ३ अर्ब रुपैयाँभन्दा बढीको अपचलन भएको कर्णाली विकास बैंक घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । अनुसन्धान प्रतिवेदन तयार गरी सीआईबीले केही दिनअघि सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार, बैंक सञ्चालक, कर्मचारी र कर्जा नतिर्ने ऋणीसमेत गरी १११ जनालाई मुद्दा चलाउने सुझावसहित प्रतिवेदन बुझाइएको हो । तीमध्ये चार जनाको मृत्यु भइसकेको छ । बाँकी विरुद्ध बाँके जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

हालसम्म पूर्वराष्ट्र बैंक कर्मचारी भुवन बस्नेतसहित चार जनालाई सीआईबीले पक्राउ गरिसकेको छ । बस्नेतको खातामा कर्णाली विकास बैंकबाट १० लाख रुपैयाँ ट्रान्सफर भएको पाइएपछि पक्राउ गरिएको हो । सीआईबीको दाबी अनुसार, अनुगमनकै क्रममा रकम लिएर उनले बैंकलाई राम्रो ठहरिएको प्रतिवेदन दिएका थिए ।

यसअघि बैंकका तत्कालीन अध्यक्ष दयाल मिश्र, संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई पनि पक्राउ गरिएको थियो । रायमाथि बैंकमा ८० प्रतिशत संस्थापक सेयर होल्डरको रूपमा १५ वर्ष कार्यकारी अध्यक्ष तथा सीईओ भएर अपचलनमा संलग्न भएको आरोप छ ।

सीआईबी र विशेष छानबिन समितिका अनुसार, बैंकको कोर बैंकिङ प्रणाली (CBS) मा देखिएको मौज्दात र वास्तविक मौज्दातमा ठूलो फरक देखिएको छ । विभिन्न बैंक खातामा नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई अपचलन लुकाइएको र राष्ट्र बैंकको अनुगमन टोलीले पनि त्रुटिपूर्ण रूपमा बैंकलाई ठिकठाक देखाएको उल्लेख छ ।

मुद्दा सिफारिस गरिएका मिश्र एमालेका केन्द्रीय सदस्य हुन् । उनी २०७४ को निर्वाचनमा बाँके–२ बाट उम्मेदवार थिए । राय पनि एमालेबाट सांसदमा उठेका थिए र हाल भारतको लखनउबाट पक्राउ परेका छन् ।

छानबिन समितिका अनुसार, चेक क्लियरिङमार्फत र टेलरमार्फत नगद झिकेर समेत अपचलन गरिएको छ । राष्ट्र बैंकमा रहेको बैंकको सीआरआर खातामा सीबीएसमा देखिएको २२ करोड रुपैयाँभन्दा बढी रकम वास्तविकमा शून्यजस्तै भेटिएको छ ।

घोटालामा संलग्न सबै व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने माग चुलिँदै जाँदा, सरकारी वकिलको कार्यालयले प्रतिवेदनको अध्ययनपछि छिट्टै मुद्दा दर्ता गर्ने जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.