Gorkha Sansar

झापा र सिरहामा गोली हानेर भारतीय ड्रग कारोबारी पक्राउ, ठूलो मात्रामा ब्राउन सुगर बरामद

काठमाडौं, साउन १० ।
झापा र सिरहा जिल्लामा प्रहरीले गोली प्रहार गर्दै दुई भारतीय नागरिकलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले शनिबार यी दुवै जिल्लामा विशेष अपरेशनमार्फत पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–५ स्थित भित्री सडकमा शङ्कास्पद रुपमा हिँडिरहेका ३६ वर्षीय भारतीय नागरिक मोहम्मद इस्लामलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले भाग्ने प्रयास गरेका थिए । प्रहरीमाथि आक्रमण गर्दै भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली प्रहार गरी गोडामा चोट लाग्ने गरी उनलाई नियन्त्रणमा लिएको हो। उनका साथबाट १२० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। इस्लामको भद्रपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, सिरहाको नवराजपुर गाउँपालिका–४ कुसण्डीमा बीआर–३२–एम–७३३८ नम्बरको भारतीय मोटरसाइकलमा सवार ३८ वर्षीय भारतीय नागरिक श्यामसुन्दर पासवानलाई पनि प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । शनिबार दिउँसो पौन ४ बजे भारतबाट नेपाल छिर्दै गर्दा रोक्न खोज्दा भाग्न थालेपछि प्रहरीको गोली लागेर नियन्त्रणमा लिइएको हो । उनको साथबाट ५० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि पनि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँमा गोली प्रहार गर्दै भारतीय लागुऔषध कारोबारीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न समूहमाथि निगरानी बढाएको जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.