महोत्तरी, ९ साउन — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो तराई–मधेशका सुख्खा प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गरेका छन्। वर्षा नपरेको कारण धान रोपाइँ प्रभावित भएसँगै उत्पन्न समस्या समाधानका लागि प्रधानमन्त्रीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकारका पदाधिकारी र अन्य उच्चस्तरीय निकायहरूसँग परामर्श गरेका थिए।
मन्त्रिपरिषदको साउन ७ गतेको बैठकले तीन महिनाका लागि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले समस्या समाधानका उपायबारे स्थानीय सरोकारवाला निकायसँग छलफल गर्ने जनाइएको छ।
प्रधानमन्त्री ओली महोत्तरी र बाराका विभिन्न कार्यक्रममा समेत सहभागी हुने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।