Gorkha Sansar

मेयर साम्पाङको टिप्पणीले बीपी प्रतिष्ठान असन्तुष्ट, सार्वजनिक विज्ञप्तिमा आपत्ति

धरान, ७ साउन  — धरान उपमहानगर प्रमुख हर्क साम्पाङद्वारा सामाजिक सञ्जालमा पुरानो अस्पतालबारे गरिएको टिप्पणीलाई लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपी प्रतिष्ठान) आक्रोशित बनेको छ। मेयर साम्पाङले ‘पुरानो अस्पताल बीपीले हडपेको’ उल्लेख गर्दै मन्त्रालयलाई पत्र लेखेको विषय सार्वजनिक भएपछि प्रतिष्ठानले कडा आपत्ति जनाएको हो ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारले जारी गरेको विज्ञप्तिमा साम्पाङको अभिव्यक्तिलाई “तथ्यहीन, भ्रामक र बदनियतपूर्ण” भनेको छ। विज्ञप्तिमा यस्ता टिप्पणीले सेवाग्राहीमा भ्रम सिर्जना गर्नुका साथै संस्थाको गरिमा असरमा परेको जनाइएको छ ।

मेयर साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्रमा लेखेका थिए, “धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाताचोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन कुलङ्घारले दलालीमा परेर बीपी अस्पताललाई दियो थाहा भएन। यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। कृपया फिर्ता गरिदिनुहोला ।”

यो अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भन्दै प्रतिष्ठानले स्थानीय सरकार प्रमुखजस्तो पदमा रहेकाले संयमित भाषा प्रयोग गर्नु उपयुक्त हुने प्रतिक्रिया दिएको छ ।

विज्ञप्तिअनुसार, २०४८ सालमा तत्कालीन सरकारले धरान बजारस्थित १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा बीपी प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । यो निर्णय कार्यकारिणी समिति र सञ्चालक परिषद्बाट अनुमोदन भई कार्यान्वयनमा आएको जनाइएको छ ।

साथै, प्रतिष्ठानको सर्वोच्च निकाय सञ्चालक परिषद्मा स्वयं धरान नगरप्रमुख सदस्य हुने जानकारी दिँदै, संवाद र सहकार्यका लागि आफूहरू सधैं तयार रहेको प्रतिष्ठानले जनाएको छ । विज्ञप्तिमा भविष्यमा संयमित अभिव्यक्ति र प्रमाणमा आधारित सूचना प्रवाह गर्न आग्रह गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.