Gorkha Sansar

विमान दुर्घटनापछि ढाका शोकमग्न, आज राष्ट्रिय शोक घोषणा: मृत्यु हुनेको संख्या २० पुग्यो, १७० भन्दा बढी घाइते

बंगलादेशको राजधानी ढाकामा सोमबार दिउँसो वायुसेनाको एक एफ–७ बीजेआई प्रशिक्षण विमान विद्यालय भवनमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी घाइते भएका छन्।

उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजको दुई तल्ले भवनमा विमान ठोक्किएपछि आगलागी भई बाक्लो धुवाँ फैलिएको देखिएको थियो।

बंगलादेशी सशस्त्र सेनाले फेसबुकमा विज्ञप्ति जारी गर्दै विमान उडानपछि केही समयमै प्राविधिक गडबडी आएको जानकारी दिएको छ। दिउँसो १ बजेपछि विमान उडेको केहीबेरमै दुर्घटना भएको हो। मृतकमध्ये विमान चालक फ्लाइट लेफ्टिनेन्ट तोकिर इस्लाम पनि छन्। उनले विमानलाई कम जनसंख्या भएको क्षेत्रमा लैजाने प्रयास गरेका थिए।

दुर्घटनापछि ५० भन्दा बढी व्यक्तिलाई जलेर गम्भीर घाइते अवस्थामा अस्पताल लगिएको छ। घाइतेमध्ये धेरैजना गम्भीर अवस्थामा रहेको राष्ट्रिय बर्न तथा प्लास्टिक सर्जरी संस्थाका चिकित्सकले जनाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये १७ जना बालबालिका छन्। विद्यालयमा ४ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी पढ्ने गर्छन्।

एक शिक्षक रेजाउल इस्लामले बीबीसी बांग्लालाई भने, “मैले विमानलाई भवनमा सिधै ठोक्किएको देखेँ।” अर्का शिक्षक मसुद तारिकले भने, “ठूलो विस्फोटको आवाज आयो, फर्किएर हेर्दा केवल आगो र धुवाँ मात्र देखियो। त्यहाँ धेरै अभिभावक र बालबालिका थिए।”

कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले भने, “मैले परिक्षा सकेर बाहिर निस्केको थिएँ, त्यो बेला मेरो अगाडि नै विमान ठोक्किएको थियो। मेरो सबैभन्दा मिल्ने साथीको घटनास्थलमै मृत्यु भयो।”

घटनाबारे छानबिन गर्न समिति गठन गरिएको बंगलादेशी सेनाले जनाएको छ।

दुर्घटनापछि उद्धार टोलीले भग्नावशेष खनेर जीवितहरू खोज्ने प्रयास गरेका थिए भने स्थानीयहरू वरपरका भवन चढेर दृश्य हेर्दै थिए।

स्वास्थ्य मन्त्रालयले जानकारी दिएअनुसार शहरभरका ७ वटा अस्पतालमा घाइतेहरूलाई उपचार गरिँदैछ।

उत्तरा आधुनिक मेडिकल कलेज अस्पतालमा कार्यरत एक चिकित्सकले अधिकांश घाइते १० देखि १५ वर्ष उमेर समूहका रहेको र धेरैलाई विमानको इन्धनबाट जलेको घाउ लागेको बताएका छन्।

रक्तदान गर्न आएका स्वयंसेवक तथा आफन्तको खोजीमा अस्पताल पुग्ने मानिसहरूको भिड देखिएको छ।

एक पुरुषले आफ्ना आठ वर्षीय भतिजाको मृत्यु भएको बताएका छन्। उनका अनुसार, “मेरो प्रिय भतिजा अहिले शवगृहमा छ।” उनका भाइ (बालकका पिता) भने निरन्तर भन्दै थिए, “मेरो छोरा कहाँ छ?”

अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले घटनाको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान हुने बताएका छन्। उनले सबै अस्पताल र निकायलाई घटनालाई गम्भीरताका साथ लिन निर्देशन दिएका छन्।

सरकारले मंगलबार राष्ट्रिय शोक दिवसको घोषणा गरेको छ। त्यस दिन देशभर राष्ट्रिय झन्डा आधा झुकाइएको हुनेछ।

बीबीसी हिन्दी

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.