काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने तयारीमा छ । सोमबारदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठक हिजोको निरन्तरतामा आज बस्दैछ ।
बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । प्रत्येक सदस्यलाई तीन–तीन मिनेट समय दिइएको बैठकमा सोमबार प्रमुख रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशबारे निर्णय लिनुपर्ने धारणा अघि सारिएको थियो ।
धेरैजसो केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति भण्डारीको सक्रिय भूमिकाको चर्चा गर्दै एमालेमै औपचारिक रूपमा स्वागत गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरूको आग्रह अनुसार बैठकमै निर्णय गर्न नेतृत्वलाई दबाब पनि दिइएको छ ।
सोमबारको बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठनिक तथा राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि गण्डकी, मधेस र उपत्यकाका प्रतिनिधिहरूले आफ्नो क्षेत्रगत धारणा राखेका थिए ।
पार्टी स्रोतका अनुसार सचिवालय र पोलिटब्युरोबाट आएका प्रस्तावहरूमा केन्द्रीय सदस्यहरूले व्यापक समर्थन जनाएका छन् । आजको बैठकमा केही बाँकी सदस्यहरूको धारणा सुनेर बैठक टुंग्याउने तयारी छ ।