काठमाडौं, ५ साउन ।
साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम तथा निर्णायक खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे ढाकास्थित बसुन्धरा किङ्स एरेनामा हुनेछ । यस खेलले प्रतियोगिताको च्याम्पियन तय गर्नेछ ।
हालको स्थितिमा बंगलादेश अपराजित रहँदै १५ अंकसहित शीर्ष स्थानमा छ । नेपाल भने दोस्रो स्थानमा १२ अंकसहित रहेको छ । बंगलादेशलाई उपाधिका लागि बराबरीको नतिजा पर्याप्त हुनेछ भने नेपालले च्याम्पियन बन्न जित्नैपर्नेछ ।
नेपालले यसअघि बंगलादेशसँग पहिलो खेलमा ३-२ को हार बेहोरेको थियो । तर बाँकी चार खेलमा शानदार जित हात पार्दै उपाधि होडमा कायम रहन सफल भएको हो । नेपालले ५ खेलमा ३० गोल गरेको छ भने बंगलादेशले २४ गोल गरेको छ । दुवै टिमले ४–४ गोल खाएका छन् ।
यदि नेपालले आजको खेलमा बंगलादेशलाई दुई गोल अन्तरले पराजित गर्न सके च्याम्पियन बन्नेछ । एक गोल अन्तरले जित्दा भने अंक र हेड टु हेड बराबरी हुनेछ, जसपछि कुल गोल अन्तरले विजेता निर्धारण हुनेछ । अहिले नेपालको समग्र गोल अन्तर बंगलादेशभन्दा राम्रो अवस्थामा छ ।
चार टिम सहभागी प्रतियोगिता डबल राउण्ड रोबिन फर्म्याटमा हुँदै आएको छ । सबै खेल सकिएपछि सर्वाधिक अंक ल्याउने टिमलाई च्याम्पियन घोषणा गरिनेछ ।
नेपालका लागि यो खेल ‘गर या मर’ (Do or Die) को स्थितिमा छ । कप्तान बिर्सना चौधरीले च्याम्पियन बन्नकै लक्ष्य लिएर आएको बताउँदै बंगलादेशविरुद्ध शतप्रतिशत दिने प्रतिवद्धता जनाएकी छिन् ।