काठमाडौं,५ साउन ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा १९ हजारभन्दा बढी फाइल अटोमेटिक रूपमा स्वीकृत भएपछि, त्यहाँको कर्मचारी प्रशासनमा हंगामा मच्चिएको छ । फाइल अड्काएर ‘डिल’ गर्ने सुविधा गुमेपछि अधिकांश कर्मचारीले काममा असहयोग जनाएका हुन् ।
आर्थिक वर्षको अन्तिम दिन अर्थात् ३२ असारसम्म कम्पनी अद्यावधिक, खारेजीजस्ता कामका लागि पेस भएका १८ हजार ८४२ फाइल प्रणालीमा पेन्डिङ थिए। समयाभाव र कार्यभारको चापका कारण ती सबै फाइल म्यानुअल रूपमा स्वीकृत गर्न असम्भव भएपछि रजिस्ट्रार ईश्वरराज गिरीले ती फाइलहरूलाई अटोमेटिक प्रणालीबाट स्वीकृत गर्ने निर्णय गरेका थिए ।
तर, कर्मचारीहरूले उक्त प्रस्ताव अस्वीकार गरे। कारण थियो— फाइल अड्काएर आफू अनुकूल समयमा स्वीकृति दिएर घुसको ‘डिल’ गर्ने अवसर गुम्नु। कार्यालयभित्र ‘माल काट्ने’ शब्दले चिनिने यो चलन अवरुद्ध हुने भएपछि कर्मचारीहरूले अघोषित ‘पेन डाउन’ गरे ।
नयाँ युजर बनाएर रातारात स्वीकृति
कर्मचारीले आफ्ना युजर प्रयोग गर्न नमानेपछि सूचना प्रविधि टिमले नयाँ युजर बनाएर स्वीकृति प्रक्रिया अगाडि बढायो। रजिष्ट्रार कार्यालयका प्रविधि निर्देशक भुवन भण्डारीका अनुसार तीन तहमा नयाँ युजर बनाएर ती सबै फाइल स्वचालित रूपमा स्वीकृत गरियो ।
‘कानुनले दिएको म्याद भित्र फाइलहरू फस्र्यौट गर्न आवश्यक भएकाले यस्तो निर्णय गरिएको हो’, भण्डारीले भने, ‘यो नै डिजिटल सुशासनतर्फको ठोस कदम हो ।’
तर, स्वीकृति पत्र भने रोकियो
फाइल स्वीकृत भइसके पनि सम्बन्धित प्रमाणीकरण पत्र भने जारी गरिएको छैन । कर्मचारीहरू अझै पनि अड्किएका छन्, उनीहरूको भनाइ अनुसार अटोमेटिक फाइल स्वीकृति भएमा आफूहरूले ‘सही’ नगर्ने अड्डी लिएका छन् । यसकारण अहिलेसम्म कुनै फाइलमा पत्र जारी भएको छैन ।
सूचना अधिकारी यज्ञराज कोइरालाले भने, “स्वीकृति जस्तै पत्र पनि अटोमेटेड प्रणालीबाटै जारी हुनेछ । प्रणाली सुधारको काम भइरहेकोले केही ढिलाइ भएको हो । एक–दुई दिनमै प्रक्रिया सम्पन्न हुन्छ ।”
६९ हजार कम्पनी छुटका लागि आवेदन, तर १०% ‘डिल’ को गुनासो
९० प्रतिशत जरिवाना छुट दिने सरकारी अध्यादेशअनुसार ६९ हजार ४३० कम्पनीले छुटको लागि आवेदन दिएका छन् । तर, सेवाग्राहीहरूले छुटको प्रक्रियामा पनि १० प्रतिशत ‘घुस’ बुझाउनुपरेको गुनासो गरेका छन् ।
पहिलो चरणमा कार्यान्वयन नगरेको उक्त छुट सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मात्र कार्यान्वयनमा आएको थियो ।
सिस्टम डाउन गरेर घुस असुली: तर कारबाही अझै शून्य
कार्यालयमा कर्मचारीहरूले सर्भर डाउन भएको हल्ला फैलाई सेवाग्राहीको काम रोक्ने र घुस लिएपछि मात्र अगाडि बढाउने चलन विकसित गरेका थिए ।
आएका फाइलहरू प्रक्रियामा लैजाने सट्टा “सिस्टम डाउन भएको छ”, “कागजात पूरा छैन”, “भुक्तानी प्रणाली बिग्रिएको छ” भन्नेजस्ता बहानामा काम अड्काइन्थ्यो ।
यसरी जानाजानी रोकिएका फाइलहरूमा कम्पनीको वासलातअनुसार ०.३ प्रतिशतदेखि १ प्रतिशतसम्म रकम घुसका रूपमा असुल गरेर मात्र काम अगाडि बढाउने ‘अनौपचारिक प्रणाली’ नै बनाइएको थियो ।