कानेपोखरी, मोरङ – सोमबार कानेपोखरी गाउँपालिकाको प्राङ्गणमा छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कानेपोखरी गाउँपालिकाले आ.व. २०८१/८२ मा उत्तीर्ण भएका विभिन्न कक्षाका बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । यस अवसरमा “प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी” कार्यक्रम अन्तर्गत १८ जना प्राविधिक विद्यार्थीलाई नगद २७,५۰۰ रुपैयाँका दरले सम्मान गरिएको छ ।
कार्यक्रममा कक्षा ५ र ८ मा उत्तीर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार पनि वितरण गरिएको छ । कक्षा ८ मा सुदर्शन निरौला र सरिना धिमाल क्रमशः पहिलो र दोस्रो भएका छन्, जसले नगद १०,००० र ७,००० रुपैयाँ पाएका छन् । कक्षा ५ मा सृष्टि राई र ममता भट्टराईले पनि पुरस्कार प्राप्त गरेका छन् ।
उपाध्यक्ष भोलाप्रसाद अधिकारीले शिक्षामा सुधार ल्याउन पालिका सक्रिय रहेको बताएका छन् । “गुणस्तरीय शिक्षाको लागि विद्यालय मर्जको अवधारणामा हामी अघि बढिरहेका छौं,” उहाँले भने । पालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सामुदायिक विद्यालय सुधारमा सबैको एकता आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले शिक्षामा ठूलो लगानी गरिएको र आगामी वर्षमा अझ बढी प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। “सामुदायिक विद्यालय अध्ययन गरेका विद्यार्थीलाई मात्र खाडी मुलुक जान सक्षम बनाउने होइन, अन्य देशमा अध्ययन र रोजगारीका लागि पनि सक्षम बनाउनु पर्छ,” उहाँले जोडदार शब्दमा भनिन् ।
यो कार्यक्रम कानेपोखरी गाउँपालिकाको सामुदायिक विद्यालयको उन्नति र प्रगतिको लागि महत्वपूर्ण कदम रहेको बताइएको छ ।