Gorkha Sansar

नगरपालिकाको स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयप्रति स्थानीयहरूको आपत्ति: स्वास्थ्य संस्थामा तालाबन्दी

गोरखा

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ स्थित खत्रीटार मा रहेको खत्रीटार सहरी स्वास्थ्य केन्द्र मर्ज गर्ने नगरपालिकाको निर्णयप्रति विरोध जनाउँदै स्थानीयवासीले स्वास्थ्य संस्थामा असार ३१ गते ताला लगाएका छन् ।

पालुङटार नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार खत्रीटार मा रहेको खत्रीटार सहरी स्वास्थ्य केन्द्रलाई सोही नगरपालिकाको वडा नम्बर ६ स्थित भोटेकाटे मा रहेको नेपाल भारत मैत्री भवनमा लगेर डाक्टर सहितको सुविधा दिनेगरी श्रावण १ गतेबाट सेवा सुरु गर्न लागेको बताइएको छ।

स्थानीयवासीले भने उक्त संस्था पालुङ्टार नगरपालिका वडा नम्बर ७ को रहेको र सो स्थानबाट संस्थालाई हटाउन नहुने भनी विरोध जनाएका हुन् । उक्त स्थानबाट सो संस्था हटाउनको लागि स्थानीयहरूसँग कुनै परामर्श नै नगरी एक्कासी निर्णय गरेर आएको र स्थानीयले भर्खरै मात्र थाहा पाएपछि विरोध स्वरूप तालाबन्दी गरेको एक स्थानीय दिलीप खत्रीले जानकारी दिनुभएको छ।

३१ गते बिहानै स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेपश्चात स्थानीय हरू बस रिजर्भ नै गरेर पालिका पुगेका थिए। तर पालिकामा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत कोही पनि भेट नभएकोले आफूहरूले स्वास्थ्य शाखालाई तालाबन्दीबारे जानकारी गराई फर्किएको र वडा नम्बर ७ को कार्यालय पुग्दा समेत वडा अध्यक्ष, वडा सदस्यहरु, सचिव लगायत कोही पनि कर्मचारी र जनप्रतिनिधि भेट नभएको खत्रीटार सहरी स्वास्थ्य केन्द्र सञ्चालन समितिका सदस्य समेत रहेका जनक भट्टले जानकारी दिनुभयो ।

उक्त स्थानमा स्वास्थ्य केन्द्र स्थापनाको लागि भनेर नन्द कुमारी खत्रीले भवन निर्माणको लागि जग्गादान समेत गर्नुभएको थियो। उक्त स्थानमा भवन निर्माण कार्य सम्पन्न भएपश्चात वडा नम्बर ७ को  आहालेबरामा रहेको स्वास्थ्य केन्द्रलाई स्थानान्तरण गरिएको थियो। उक्त जग्गा भने च्याङ्ली स्वास्थ्य चौकीको नाममा पास गरिएको छ। स्वास्थ्य संस्थाको लागि जग्गा प्रदान गरेर यहाँका स्थानीयहरूलाई स्वास्थ्य सेवाबाट लाभ दिन सकिने प्रलोभन देखाएकै कारण आफूले जग्गा दान गरेको र अहिले आफूलाई नै थाहा नदिइकन संस्था अन्यत्र लैजान लागेको ले आफ्नै नेतृत्वमा तालाबन्दी गरेको र कुनै पनि हालतमा यस संस्थालाई अन्यत्र लैजान नदिने अनि जग्गादाता नन्दकुमारी खत्री बताउनुहुन्छ ।

हाल भइरहेको संस्था र अब जाने भनिएको स्थान वडा नै फरक भएकोले पनि कार्यपालिकाको निर्णय गलत भएको र तत्काल निर्णयलाई सच्याएर स्थानीयहरूको चित्त बुझाउनुपर्ने माग राखेका छन्।

जनताको मागलाई नसुनिकन नगरपालिकाले संस्था अन्यत्र सारेमा स्थानीयहरू थप सशक्त भएर आन्दोलन मा उत्रने चेतावनी समेत दिएका छन्।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.