काठमाडौँ, असार १८ गते । राष्ट्रिय सभाबाट केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० पारित भएको छ । दर्ता भएको दुई वर्षपछि प्रतिनिधि सभाबाट गत वैशाख १६ गते पारित भएको विधेयक राष्ट्रिय सभाको मङ्गलबारको बैठकले संशोधनसहित पारित गरेको हो ।
सङ्घीय संसद् सचिवालयका अनुसार विधेयक दर्ता हुँदा संशोधनका लागि प्रस्तावित केही व्यवस्था अन्य ऐन तथा अध्यादेशमार्फत सम्बोधन भइसकेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक–२०८० मा कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन–२०७० को केही दफामा संशोधन व्यवस्था गरेको थियो । सोही ऐनमा संशोधन गर्न ल्याइएको अध्यादेश दुवै सदनले करिब दुई महिनाअघि नै पारित गरिसकेका छन् ।
सङ्घीय संसद् सचिवालयका उपसचिव नुमराज खनालले केही नेपाल ऐनमार्फत उपदफाका क्रममा मात्रै संशोधन भएको जानकारी दिनुभयो । उहाँले तात्त्विक भिन्नता नभएको प्रस्ट्याउनुभयो । उपसचिव खनालले भन्नुभयो, “कसुरजन्य सम्पत्ति तथा साधन रोक्का ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश र प्रतिस्थापन विधेयक केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक छलफलकै क्रममा रहँदा पारित भयो ।”
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले ७९ वटा ऐन संशोधन गर्ने प्रस्ताव गरेको थियो । विधेयकमा प्रतिनिधि सभाले दुई र राष्ट्रिय सभाले एउटा ऐनको संशोधन झिकेर पारित गरेको छ । प्रतिनिधि सभाले प्रेस काउन्सिल ऐन–२०४८ र मुलुकी फौजदारी संहिता कार्यविधि–२०७४ मा राखिएको संशोधन हटाउँदा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले लोक सेवा आयोग ऐन–२०७९ को संशोधन हटाएको छ ।
उपसचिव खनालले विधेयकले अब ७६ वटा ऐनलाई संशोधन गरेको र दुई वटा ऐन खारेज गरेको बताउनुभयो । राष्ट्रिय सभाबाट पारित विधेयकबाट रकम तथा सरकारी ठेक्का बन्दोबस्त ऐन–२०२० र गरिबी निवारण कोष ऐन–२०६३ खारेज भएको छ ।