काठमाडौं : विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलहरूले संसद अवरुद्ध पारेपछि बैठक स्थगित भएको हो।
सभामुख देवराज घिमिरेले आइतबारको कार्यसूची हटाएर बैठक स्थगित गरेका थिए । संसद सुरू हुनेवित्तिकै विपक्षी दलहरूले हो-हल्ला गर्दै संसद अवरुद्ध पारेका थिए। सभामुखले दलीय आधारमा बोल्न दिने आग्रह गरे पनि विपक्षी दलले अडान कायमै राखेका थिए ।
त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफूहरू निरन्तर छलफलमा रहे पनि विषयको गम्भीर्यतालाई सत्ता पक्षले बुझ्न नसकेको आरोप लगाए । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने आफूहरूको न्यूनतम माग रहेको उनको भनाइ छ।
‘सदनको गतिरोध खुलाउने प्रयास जारी नै छ । सोमबार सदन बस्नुअघि केही न केही सहमति हुने विश्वास लिएका छौं,’ उनले भने। छलफलबाटै समस्याको हल गर्ने पक्षमा आफूहरू रहेको उनको भनाइ छ।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको बताए। बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरहेको र सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको दाबी गरे।
उनले सोमबार संसद बैठकअघि निरन्तर छलफल हुने र दिउँसो २ बजे बस्ने बैठक सहजरूपमा सञ्चालन हुने गरी आइतबारको छलफल टुंगिएको बताए। बर्तौलाले राज्यको निकायमा हुने गरेका भ्रष्टाचारजन्य कार्य नियन्त्रण गर्न सरकारले प्रतिबद्धता जनाउने गरी छलफल अघि बढेको बताए ।