काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसद्को जारी अवरोध खोल्ने संकेत गरेका छन् । ‘भिजिट भिसा प्रकरण’मा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माओवादीसहित प्रतिपक्षी दलहरूले माग गर्दै आएको थियो ।
पछिल्लो समय माओवादी गृहमन्त्रीको राजीनामाबाट ‘ब्याक’ भएको थियाे । उच्चस्तरीय छानबिन समिति गठन भए संसद्को अवरोध खुल्ने निष्कर्षमा माओवादी केन्द्र पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलको बैठकले भरपर्दो छानबिनका विषयमा सहमति भए प्रतिनिधिसभाको बैठकको अवरोध खुल्ने निर्णय गरेको बताएका छन् ।
प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरोध गरेपछि बैठक बस्न सकेको छैन । संसद् बैठकलाई अगाडि बढाउने पक्षमा प्रचण्ड आफैले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । छलफलमा गृहमन्त्रीको राजीनामाबाट प्रतिपक्षी दलहरू ब्याक हुने र उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा कुराकानी भएको स्रोतको दाबी छ ।
आइतबार (आज) १ बजे दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेस गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने अडानमा छन् । राजीनामाको विषयमा सहमति हुन नसक्दा पछिल्लो समय प्रतिनिधिसभा बैठक निरन्तरको अवरोधका कारण बस्न सकेको छैन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि संसदीय छानबिन समिति या पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन समिति बनाउने भन्नेमा सत्तापक्षसँग सहमति जुट्न बाँकी रहेका बताएका थिए ।
माओवादी केन्द्रका नेता एवं पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘भिजिट भिसा प्रकरण’मा छानबिन समिति बनाउनु पर्ने बताउँदै गृहमन्त्री लेखकले राजीनामा दिने वा नदिने भन्ने कुरा स्वयं उनी आफैमा निर्भर रहने बताए । शनिबार राजधानीको एक कार्यक्रममा उनले ‘भिजिट भिसा प्रकरण’मा छानबिन समिति बनाउनु पर्ने बताए ।
प्रतिपक्षी दलले ‘भिजिट भिसा प्रकरण’मा गृहमन्त्री रमेश लेखकको राजीनामा नै ‘बटमलाइन’ बनाएको थियो र उच्चस्तरीय छानबिन समिति पनि गठन गर्नु पर्ने उनीहरूको माग थियो । यी दुवै माग कडा रूपमा उठाउँदै उनीहरूले १३ जेठदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । गत १५ जेठमा भने बजेट ल्याउन सहमत प्रतिपक्षी दलले त्यसयता बैठक अगाडि बढ्न दिएका छैनन् । तर ‘एकाएक माओवादी गृहमन्त्री लेखकको राजीनामाबाट ब्याक भयो
पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सघन छलफलमा रहेको बताइन्छ । त्यही भएर प्रतिपक्षी दलको बैठकबाटै निर्णय गराएरै गृहमन्त्रीको राजीनामाबाट ‘ब्याक’ हुने अवस्था स्वयं प्रचण्डले नै बनाएका हुन् । अब कांग्रेस, माओवादी केन्द्रसहितका नेताबीच सत्ता सहकार्य हुन सक्ने बताइएको छ ।