गोर्खाको पालुङ्टार वडा नम्बर ७ च्याङ्ली चुदी घाट स्थित ओमकार योग आयुर्वेद गुरुकुल मा सञ्चालित महायज्ञ सम्पन्न भएको छ।
गत वैशाख २९ गतेदेखि विविध कार्यक्रमका साथ गायत्री पुरस्चरण भइरहेको र जेठ १५ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको महायज्ञ हिजो जेठ २३ गते पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
२३ गते सम्पन्न भएको समापन समारोहमा जग्गा तथा नगद दान गर्ने दानवीरहरूलाई सम्मान समेत गरिएको थियो। उक्त कार्यक्रममा नेपाल इन्जिनियरिङ इन्स्टिच्युट त्रिभुवन विश्वविद्यालयका पूर्व डिन श्रीराम भक्त माथेमा, विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय सह महासचिव रामेश्वर कोइराला, पालुङटार नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेजराज पाण्डे, पलुङटार नगरपालिका वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए। विश्व हिन्दु महासङ्घका अध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री डाक्टर रामचन्द्र अधिकारीले महायज्ञ अवधिभर मूलकर्ताको रुपमा रहेर काम गर्नुभएको थियो। समापन समारोहमा बोल्दै डाक्टर अधिकारीले गायत्री पुरस्चरण तथा यस महायज्ञको महत्वका विषयमा आफ्ना भनाइहरु राख्नुभएको थियो।
सामवेद, ऋग्वेद, यजुर्वेद र अथर्ववेद चारवटै वेदका ज्ञाता हरूको उपस्थितिमा सम्पन्न भएको यस महायज्ञ अत्यन्तै ऐतिहासिक भएको ओमकार योग आयुर्वेद गुरुकुलका सहसचिव रमेश पराजुलीले बताउनुभयो। गुरुकुल सञ्चालन समितिका सचिव केशव अधिकारीले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सम्पन्न गरिएको यस कार्यक्रममा आचार्य गोविन्द रेग्मीले प्रमुख वाचकको रुपमा कथावाचन गर्नुभएको थियो।
डाक्टर रविन्द्र कडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यक्रम अवधि भरमा गोरखा, तनहुँ, लमजुङ, कास्की लगायतका विभिन्न जिल्लाका भक्तजनहरूको समेत उपस्थिति रहेको थियो।
महायज्ञ अवधि भरमा उत्कृष्ट दानवीरको रुपमा विश्व हिन्दु महासङ्घका केन्द्रीय सह महासचिव रामेश्वर कोइराला, पालुङटार ७ च्याङ्ली निवासी चोला कुमारी कडेल तथा गुरुकुलका सहसचिव रमेश पराजुली लगायतकालाई विशेष सम्मान पनि गरिएको थियो।