Gorkha Sansar

मोरङको कटहरीमा दुई अर्बको लागतमा सामुदायिक अस्पताल निर्माण

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा दुई अर्बको लागतमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेसन सञ्चालनमा आउन लागेको छ ।

अत्याधुनिक स्वास्थ्य सेवासहित २ सय शय्याको सामुदायिक अस्पताल यही जेठ २४ गतेदेखि सेवा प्रवाहमा आउने तयारी भएको हो । अस्पतालको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने कार्यक्रम तय भएको छ ।

ग्रामीण तथा मध्यम् वर्गीय जनतालाई लक्षित गर्दै सेवा सुरु गर्न लागिएको यस अस्पतालको मुख्य उद्देश्य सबै नागरिकको स्वास्थ्य सेवामा सहज र समान पहुँच सुनिश्चित गर्नु रहेको फाउण्डेसनका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए ।

उनकाअनुसार अस्पतालमा अत्याधुनिक उपकरण, अनुभवी चिकित्सक र दक्ष स्वास्थ्यकर्मीमार्फत् गुणस्तरीय सेवा प्रदान गरिनेछ । ‘हामीले लाभ नकमाउने तर गुणस्तरीय सेवा दिने लक्ष्य लिएका छौँ’ अध्यक्ष मण्डलले सोमबार अस्पताल परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत् भने, ‘ग्रामीण क्षेत्रमा बसेका मानिसलाई सुलभ दरमा अत्याधुनिक स्वास्थ्य सेवा पुर्‍याउने हाम्रो प्राथमिकता हो ।’

अस्पतालमा आकस्मिक सेवा, विशेषज्ञ ओपीडी, गाइनो, बालरोग उपचार, डायलाइसिस, जनरल तथा लेप्रोस्कोपिक सर्जरीलगायतका सेवा उपलब्ध हुनेछन् । साथै, कार्डियोलोजी (हृदय रोग) तथा न्यूरोसर्जरी (मस्तिष्क तथा नशा रोग) सेवा पनि सुरु गर्ने तयारी गरिएको छ । ‘हामीले क्याथ ल्याव, सिटी स्क्यान, एमआरआईजस्ता उपकरण ल्याउने तयारी गरिरहेका छौँ’ उनले भने, ‘हृदय तथा मस्तिष्कसम्बन्धी जटिल शल्यक्रियाका लागि आवश्यक पूर्वाधार पनि तयार पारिएका छन् ।’

२० बिघा क्षेत्रफल रहेको अस्पतालको संरचना भविष्यमा मेडिकल कलेज सञ्चालन गर्न मिल्ने खालको बनाइएको छ । पाँचसय शय्याको अस्पताल निर्माण गरेर एमबीबीएस लगायतका पाठ्यक्रम सञ्चालन गर्ने योजना फाउण्डेसनको छ । हाल अस्पतालमा दुई दर्जन बढी विशेषज्ञ चिकित्सकसहित २ सयजनाको स्वास्थ्यकर्मी टिम कार्यरत छन् ।

अस्पतालसँगै टेक्निकल एजुकेशन फाउण्डेसन अन्तर्गत नर्सिङ, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोलोजी, फिजियोथेरापी, तथा अन्य स्वास्थ्य विज्ञानका विषयमा स्नातक र स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ ।

‘हामी शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्नेछौँ’ अध्यक्ष मण्डलले भने, ‘स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्न यस्ता तालिम केन्द्रको आवश्यकता छ ।’ २०७६ पुस २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेसनले मुनाफारहित सामाजिक उद्यमको अवधारणामा काम गर्दै आएको छ । यसअघि जीवन विकास समाजले मोरङकै अमाहीबरियातिमा २४ घण्टे क्लिनिक सञ्चालन गर्दै आएको थियो । सोही अनुभवको आधारमा क्रमशः पब्लिक हेल्थ सेन्टर र अब सामुदायिक अस्पताल स्थापना गरिएको हो ।

अस्पतालको सम्पूर्ण संरचना अपाङ्गमैत्री, महिला र बालमैत्री हुनेगरी बनाइएको छ । ह्वीलचेयर चलाउने सहज पहुँच, छुट्टै महिला/बाल वार्ड र दृष्टिविहीन तथा अशक्त व्यक्तिका लागि विशेष व्यवस्थासमेत गरिएको छ । अध्यक्ष मण्डलका अनुसार दुई अर्बको लागतमा एकै पटक २ सय शय्याको सेवा सुरु गर्ने नेपालकै पहिलो सामुदायिक अस्पताल भएको दाबी गरेका छन् । मुनाफा वितरण नगर्ने, तर गुणस्तरीय सेवा दिने सामुदायिक अवधारणामा आधारित अस्पताल नेपालमै पहिलो पटक यस्तो व्यापक संरचनामा निर्माण गरिएको उनले बताए ।

भविष्यमा मेडिकल कलेज सञ्चालन हुने तयारीको साथ सञ्चालनमा ल्याउने योजना रहेको  अस्पतालले मोरङसहित आसपासका जिल्ला र भारतका बिरामीहरूलाई समेत लक्षित गरी अस्पताल खोलिएको अध्यक्ष मण्डलले बताए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.