Gorkha Sansar

पालुङटार नगरपालिका र न्यू एक्टिभ कन्सल्टेन्सी प्रालिको संयोजनमा विषयक ६५ दिने गार्मेन्ट सीपमूलक तालिमको सम्पन्न

पालुङटार नगरपालिका र न्यू एक्टिभ कन्सल्टेन्सी प्रालिको संयोजनमा सञ्चालित गार्मेन्ट विषयक ६५ दिने सीपमूलक तालिमको समापन समारोह नगरपालिकाको आयोजनामा भव्य रूपमा सम्पन्न भएको छ । पालुङटार नगरपालिका–५ मा आयोजित कार्यक्रममा नगरस्तरीय महिला सञ्जालकी अध्यक्ष अनिता राना मगरको अध्यक्षता, नगरप्रमुख विवश चिन्तनको प्रमुख आतिथ्य, उपप्रमुख बन्दना पाण्डे र प्रमुख प्रशासकीय अधिकृत कमान सिंह थापा मगरको विशेष आतिथ्य रहेको थियो ।


समापन कार्यक्रममा बोल्दै नगरप्रमुख विवश चिन्तनले तालिममा सहभागी महिलाहरूलाई बधाई दिँदै तालिमबाट प्राप्त सिपलाई व्यवहारिक क्षेत्रमा प्रयोग गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “सिप सिक्नु मात्रै पर्याप्त होइन, त्यसलाई आयआर्जनमा रूपान्तरण गर्न सक्नु अझ महत्वपूर्ण हो । यदि तपाईंहरूले सिकेको कुरालाई व्यवसायमा बदल्न सक्नुभयो भने, तपाईंहरूको जीवनशैलीमा मात्र होइन, नगरकै आर्थिक गतिशीलतामा सकारात्मक प्रभाव पर्छ ।”
नगरप्रमुख चिन्तनले पालिका स्तरमा स्थानीय स्रोत र सिप उपयोग गरी युवाहरू तथा महिलालाई स्वरोजगारतर्फ प्रेरित गर्ने नीति अवलम्बन गरिँदै आएको जानकारी दिँदै भन्नुभयो, “यस्ता तालिम कार्यक्रमहरूले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै, बाह्य रोजगारीको विकल्प सिर्जना गर्ने छन्। यसलाई निरन्तरता दिइनेछ ।”
त्यस्तै, नगर उपप्रमुख बन्दना पाण्डेले महिलाहरूको आत्मनिर्भरता र आत्मविश्वास अभिवृद्धिमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “सामाजिक, आर्थिक र पारिवारिक जिम्मेवारी बोकेका महिलाहरूले अब सीप र सम्भावनाको नयाँ ढोका खोल्न थालेका छन् । यो तालिम महिला सशक्तिकरणको एक बलियो खुड्किलो बनेको छ ।”

उपप्रमुख पाण्डेले पालिकाले महिलामैत्री नीति अन्तर्गत साना तथा मझौला उद्योग सञ्चालन, सहकारी सुदृढीकरण, तथा व्यवसायिक परामर्श सेवा विस्तारमा समेत जोड दिइरहेको जानकारी दिनुभयो । “आगामी वर्षमा हामी अझ सशक्त रूपमा सीपमूलक तालिम, व्यावसायिक सल्लाह, र अनुदान प्रणालीलाई अघि बढाउनेछौं,” उहाँले भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कमान सिंह थापा मगरले समापन समारोहमा बोल्दै पालिका समावेशी र उत्तरदायी स्थानीय शासनका आधारमा सामाजिक विकासलाई सशक्त बनाउन यस्ता तालिमहरूको भूमिका अपरिहार्य रहेको बताउनुभयो । “हम्रो प्रयास सीपमूलक शिक्षा र रोजगारीबीचको अन्तरलाई घटाउनु हो । महिला, अशक्त, बालबालिका, विपन्न र जेष्ठ नागरिक वर्गलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्,” उहाँले स्पष्ट पार्नुभयो ।
तालिम समापनसँगै तालिम प्रशिक्षार्थी, रोजगारदाता तथा गार्मेन्ट सीप परीक्षण गरिसकेका व्यक्तिहरूबीच अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो । कार्यक्रममा स्वरोजगारका अवसर, गार्मेन्ट उद्योगको सम्भावना, सहकार्यका सम्भावना तथा स्थानीय उत्पादनलाई बजारमा कसरी लैजाने भन्ने विषयमा छलफल गरिएको थियो । सहभागीहरूबीच उत्साहजनक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएको छ ।


छैँसट्ठी दिनसम्म सञ्चालित तालिममा लुगा सिलाइ, कटाइ, डिजाइनिङ, मेसिन सञ्चालन, साइज निर्धारण, ग्राहकसँग व्यवहार तथा व्यवसाय व्यवस्थापनसम्बन्धी व्यवहारिक सीप प्रदान गरिएको थियो । तालिममा सहभागी महिलाहरूले सिकेका सीपलाई प्रयोग गर्दै केहीले व्यक्तिगत व्यवसाय सञ्चालनको तयारी गरिरहेका छन् भने केही समूहमा सहकार्य गर्दै उद्योग स्थापना गर्ने योजनामा छन् ।
कार्यक्रममा प्रशिक्षक, तालिम सहभागीसहित स्थानीय प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधि र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । संयोजक संस्था न्यू एक्टिभ कन्सल्टेन्सी प्रालिले तालिम अवधिभर प्राविधिक समन्वय, तालिम व्यवस्थापन र मूल्याङ्कन कार्य निर्वाह गरेको थियो ।
यस तालिममा कुल २० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारिक भएको बताउँदै सिकेका सीपहरूलाई आगामी दिनमा व्यवसायिक क्षेत्रमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले यस्ता तालिमहरूले महिलाहरूलाई आत्मनिर्भर बन्ने बाटो खोल्ने भएकाले पालिकाले अझ बढी यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । समापन समारोहमा सहभागीहरूले खुसी व्यक्त गर्दै नगरपालिकाप्रति आभार प्रकट गरेका थिए ।


पालिकाले यस किसिमका कार्यक्रमहरूलाई अझ व्यापक बनाउँदै लैजाने र महिलालाई स्वरोजगार तथा उद्यमशीलतामा सशक्त रूपमा अगाडि ल्याउने प्रतिबद्धता जनाएको छ । समापन समारोहले सीपमूलक तालिममार्फत महिलाको सशक्तिकरण, आत्मनिर्भरता र समावेशी विकासप्रति पालिकाको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.