गोरखाको पालुङटार नगरपालिका वडा नं ७ च्याङ्लीस्थित चुँदीघाट मा रहेको ओमकार योग आयुर्वेद गुरुकुलमा जेठ १५ देखि २३ गतेसम्म गायत्री पुरस्चरण समापन तथा महायज्ञ संचालनको तयारी अन्तिम चरणमा पुगेको छ।
गत बैशाख २९ गतेदेखि गायत्री पुरस्चरण नियमित रुपमा भइरहेको र सोही पुरस्चरणको समापन तथा महायज्ञ जेठ १५ गतेदेखि २३ गतेसम्म गर्न लागिएको र उक्त कार्यक्रमको लागि तयारी अन्तिम चरणमा रहेको कार्यक्रमका प्रचारप्रसार संयोजक डाक्टर रविन्द्र कडेलले जानकारी दिनुभयो ।
धार्मिक अनुष्ठान भित्र पर्ने यस कार्यक्रमलाई सम्पन्न गर्नको लागि हिजो बसेको गुरुकुल व्यवस्थापन समितिको बैठकले यज्ञ सहज रुपमा सञ्चालन गर्नको लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको छ।
धार्मिक अनुष्ठान अन्तर्गत हुने उक्त महायज्ञमा कथावाचन ओमकार योग आयुर्वेद गुरुकुल का गुठी संरक्षक आचार्य गोविन्द रेग्मीको मुखारविन्दबाट हुने पनि जनाइएको छ ।
गोरखा र तनहुको संगमस्थल चुदीघाटमा अवस्थित गुरुकुल मा विगत केही वर्षदेखि गुरुकुलीय शिक्षा अन्तर्गत कक्षा ६ देखि ८ सम्मको संस्कृत कक्षा सञ्चालन तथा अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन् ।
१५ गतेदेखि २३ गतेसम्म हुने महायज्ञमा सहयोग गर्ने सहयोगी दाताहरूलाई मध्ये रु.१००० देखि ५००० सम्म सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र र दोसल्लाद्वारा सम्मान गरिने बताइएको छ। त्यस्तैगरी रु ५००० देखि १० हजार सम्म सहयोग गर्नेहरुलाई प्रमाणपत्र फ्रेममा राखी सम्मान गरिने र रु 20 हजार भन्दा माथि सहयोग गर्नेहरूको नामावली शिलालेखमा राखिने पनि जनाइएको छ।
ओमकार योग आयुर्वेद गुरुकुलमा महायज्ञको तयारी
