कोभिड ब्यवस्थापनमा गोरखाका स्थानीय तहले गरे झण्डै ६ करोड खर्च (विवरणसहित)

मोहसिन अलि मियाँ
गोरखा ।
 कोरोना भाइरस रोकथाम तथा ब्यवस्थापनमा गोरखाका स्थानीय तहले झण्डै ६ करोड रकम खर्च गरेका छन् । दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा कोरोना भाइरसको रोकथाम, राहत वितरण, उपचार लगायतमा गरी ५ करोड ८० लाख ५२ हजार ४ सय ६३ रुपैया खर्च गरेका हुन । तर यो खर्च असार मसान्तसम्मको मात्रै हो ।

क्वारेन्टाइन, आइसोलेसन, हेल्प डेक्स, होल्डिङ सेन्टर निर्माण, सञ्चालन तथा ब्यवस्थापन, औषधी तथा स्वास्थ्य सामाग्री खरिद, मानवीय श्रोत परिचालन, राहात वितरण, ब्यानर तथा स्टेशनरी, प्रचारप्रसार लगायतमा गरी स्थानीय तहहरुले सो रकम खर्च गरेका हुन ।

जसमा सबैभन्दा बढी रकम गोरखा नगरपालिकाले खर्च गरेको तथ्यांकमा उल्लेख छ । जिल्ला सदरमुकाम तथा बढी जनसंख्या रहेको पालिकाका रुपमा रहेको गोरखाले १ करोड १० लाख ८७ हजार ४ सय ८८ रुपैया खर्च गरेको छ । गोरखा नगरको यो गत साउन मसान्तसम्मको खर्च हो । जसमा लकडाउन पिडितका लागि राहत वितरणमा मात्रै गोरखा नगरले झण्डै ४४ लाख रकम खर्च गरेको छ ।

त्यस्तै सबैभन्दा कम खर्च भने चुमनुब्री गाउँपालिकाको छ । जसले बिभिन्न शिर्षकमा गरी २० लाख ५७ हजार ६ सय ८५ रुपैया गरेको छ । चुमनुब्रीले सबैभन्दा बढी रकम क्वारेनटाइन निर्माणमा ९ लाख १२ हजार रुपैया खर्च गरेको छ ।

यसैगरी यस अभियानमा वारपाक सुलिकोट गाउँपालिकाले ८२ लाख ७१ हजार ८ सय १५ रुपैया खर्च गरेको छ । जसमा ३८ लाख ६९ हजार रुपैया राहत वितरणमा खर्च गरेको तथ्यांकमा उल्लेख गरेको छ । त्यस्तै पालुंटार नगरपालिकाले ७३ लाख ३ हजार ६ सय ८० रुपैया कोभिड ब्यवस्थापन र रोकथाम अभियानमा खर्च गरेको छ । पालुंटारको समेत सबैभन्दा बढी राहत वितरणमा २६ लाख ५७ हजार खर्च गरेको पालिकाबाट प्राप्त विवरणमा उल्लेख छ ।

त्यस्तै धार्चे गाउँपालिकाले ३९ लाख रकम खर्च गरेको छ । धार्चेले क्वारेनटाइन निर्माणमा सबैभन्दा बढी रकम १९ लाख लगानी गरेको बताएको छ । यसैगरी असार मसान्तसम्म शहिद लखन गाउँपालिकाले ६८ लाख ८३ हजार ६ सय ५१ रुपैया खर्च गरेको बताएको छ । शहिद लखनले सबैभन्दा बढी रकम कर्मचारी तलब भत्ता र प्रोत्साहन शिर्षकमा २९ लाख ५५ हजार रुपैया लगानी गरेको छ ।

यसैगरी भिमसेन थापा गाउँपालिकाले ३० लाख ११ हजार ९ सय ७९ रकम खर्च गरेको र सबैभन्दा बढी रकम क्वारेनटाइन निर्माण र ब्यवस्थापनमा ११ लाख ३३ हजार रुपैया खर्च गरेको जनाएको छ । त्यस्तै आरुघाट गाउँपालकाले ३५ लाख ६६ हजार ८ सय १९ रुपैया कोभिड ब्यवस्थापनका लागि खर्च गरेको जनाएको छ । असार मसान्तसम्म आरुघाटले सबैभन्दा बढी रकम राहत वितरणमा १३ लाख ६९ हजार लगानी गरेको तथ्यांकमा छ ।

गण्डकी गाउँपालिकाले ५९ लाख ९ हजार ८ सय ८८ रुपैया खर्च गर्दा सबै भन्दा बढी रकम भने पिपिइ, मास्क, सेनिटाइजर लगायतका भौतिक सामाग्री खरिदमा १४ लाख ६१ हजार रुपैया लगानी गरेको तथ्यांकमा उल्लेख गरेको छ ।

त्यस्तै यसै अभियानमा अजिरकोट गाउँपालिकाले ३६ लाख रुपैया खर्च गरेको जनाएको छ । जसमा सबैभन्दा बढी राहत वितरणमा १३ लाख रुपैया खर्च गरेको छ । त्यस्तै सिरानचोक गाउँपालिकाले असारमसान्तसम्म २४ लाख ५९ हजार ४ सय ५८ रुपैया कोरोना रोकथाम अभियानमा खर्च गरेको छ । जसमा सबैभन्दा बढी लगानी ५ लाख ५ हजार रुपैया क्वारेनटाइन निर्माणमा खर्च गरेको पालिकाबाट प्राप्त तथ्यांकमा उल्लेख गरिएको छ ।

केहिदिन अघि सोच नेपालको आयोजनामा सदरमुकाममा भएको एक कार्यक्रममा नागरिक साझा सवाल गोरखाले पालिकाहरुले कोभिड १९ ब्यवस्थापनमा गरेको आम्दानी र खर्च रकमको विवरण सार्वजानिक गरेको हो ।

गोरखा नगरपालिकाका नगरप्रम्ुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साझा सवालका संयोजक स्थानेश्वर दुवाडीले पालिकाहरुले कोरोना भाइरस रोकथाम अभियानमा गरेको आम्दानी र खर्च विवरण नागरिक समाज, सञ्चारकर्मी लगायतको सहभागितामा सार्वजानिक गरेका हुन ।

जसमा यस अभियानमा ११ पालिकाले आफ्नै कोष, गण्डकी प्रदेश सरकार, संघ सरकार तथा बिभिन्न नीजि तथा सामाजिक संघसंस्था लगायतबाट गरी ८ करोड ४९ लाख ५७ हजार ८ सय ६ रुपैया आम्दानी गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

civilkhabar.com

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.