मनोज गजुरेलको कोरोना अनुभव : सरकारले भनेझैं श्वास फेर्न गाह्रो हुन्जेल कुरें

काठमाडौँ — ‘ओह्हो ! गजुरेल सर पनि आउनु भो, के हो दुनियाँलाई हसाउने मान्छे आफू रुँदै आए त,’ कात्तिक १० मा बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा पुग्दा कोरोनाका बिरामीले यसो भन्दै मनोज गजुरेलको स्वागत गरे ।

श्वास फेर्न नसकेर छटपटिँदै अस्पताल पुगेका उनले नमीठो मुस्काउनसहित भनिदिए,’हजुर हो’। कोरोनाबाट भर्खरै तंग्रिएका उनीहरु एकपछि अर्को विषय निकाल्दै मनोजसँग एकतर्फी बोलिरहे । मनोजलाई भने भित्रभित्रै लागिरहेको थियो, ‘धेरै नबोलिदिए हुन्थ्यो’ । अस्पतालको शय्यामा घोप्टो परेर त कहिले कोल्टे फेर्दै श्वाससँग संघर्षरत उनलाई बोल्न पनि श्वासकै अभाव थियो त्यो समय ।

मनोजका दाइ धिरेन्द्र एयरपोर्टमा काम गर्छन् । असोज २७ मा दाइलाई ज्वरोले च्याप्यो । सामान्य ज्वरो ठाने परिवारका सबैले । केहि दिनपछि बोकेर क्लिनिकसम्म पुर्‍याउनुपर्ने भयो । अस्पताल ल्याउने पुर्‍याउने क्रम १ हप्ता चल्यो । धिरेन्द्रलाई धेरै नै गाह्रो भएपछि दुवैले स्टार अस्पतालमा कोरोना परीक्षण गरे ।

रिपोर्ट आउनु अगावै कोरोनाको लक्षण ठम्याइसकेका थिए दुईले। नतिजा अपेक्षित नै आयो । ‘कालो प्लास्टिकमा बेरेर सेता लुगा लगाएकाले गहिरो खाल्डोमा लात्ताले हान्ने भयो’ रिपोर्ट आउनसाथ झट्ट मनोजको दिमागमा यी दृश्य नाचेको थियो । दीर्घ रोग नभएको व्यक्तिलाई कोरोनाले गाह्रो पार्दैन भन्ने सुनेका हुनाले एक मनमा ढुक्क पनि भए । निको हुन्छु भन्ने भावले मर्छु कि ! भन्ने कल्पना हटाइदियो ।

दुई दाजुभाइले सावधानी अपनाएर घरमै आइसोलेसनमा बस्ने निधो गरे । घरको एउटा कोठामा धिरेन्द्र, अर्को कोठामा भाउजू । मनोज पनि भिन्नै कोठामा आइसोलेसनमा बस्न थाले । छोराछोरी पनि अर्को कोठामा बस्थे । भाउजूलाई एकदिन ज्वरो बाहेक परिवारका अन्य चार सदस्यमा खासै लक्षण देखिएन ।

आइसोलेसनमा बस्दा घरेलु उपचारमा बढी ध्यान दिए । सकेसम्म औषधि नखाउँ भन्ने थियो । त्यसैले बेसारपानी निरन्तर पिइरहे । तातो पानी टुटेन । अन्य झोल पदार्थ पनि खाइरहन्थे उनी । खानेकुरा नमीठो लाग्थ्यो तर खान छोडेनन् । ‘स्वाद गएन । तर पनि मैले बाँच्नको लागि खाएरै कोरोनालाई जित्नुपर्छ भन्ने सुनेका हुनाले भाउजूले जे-जे दिनुभयो सबै खाएँ । बाफ लिने काम पनि अत्याधिक भयो,’ उनी सुनाउँछन् ।

दिनभर टाउको दुख्थ्यो । ‘कोरोना भन्नेले टाउको आक्रमण गर्‍यो सुरुमा । अनि सिटामोल र म हामी दुईजना मिलेर त्यसलाई त्यहाँबाट लखेट्यौं,’ ठट्यौली शैलीमा लक्षण देखिँदाका क्षण सम्झन्छन् उनी,’त्यसपछि राति निदाएको बेला झुक्काएर ज्वरो आइदियो । फेरि डिकोल खाएर त्यसलाई भगाएँ । त्यसपछाडि कोरोनाले यो मान्छे खतरा रहेछ भनेर अदृश्य हतियार प्रयोग गर्‍यो ।’

उनका अनुसार त्यो हतियार थियो जोर्नीमा आक्रमण । जोर्नीमा तीर/सियो हाने जस्तो दुख्थ्यो । त्यो दुखाइ पनि केहि दिनमा हराउँदै गयो । त्यसपछि सहनै नसक्ने ढाड दुख्न सुरु भयो । शरीरको सबै भागमा ‘मरें मरें भन्नेसम्म’ दुख्‍न थाल्यो । दुखाइ कम नभएपछि घरमा भएको भाइब्रेटिङ मेसिन पावर मोडमा राखेर ढाँडमा चलाइदिए । दुखाइ कम भयो । त्यसपछि श्वास फेर्न असहज भयो । रिपोर्ट आएको तीन दिनै श्वास फेर्न निकै गाह्रो भएको मनोज सुनाउँछन् ।

अझै अस्पताल जाने मनस्थिति बनाएका थिएनन् । अस्पताल पसेका बिरामी घर नफर्केका समाचार हेरेर त्रसित थियो मन । आफ्नो हालत उस्तै होला भन्ने पीर थियो उनलाई । तर श्वास फेर्न अत्यन्तै कठिन भएपछि भाइ मोहनलाई भनेर एम्बुलेन्स घरमै बोलाए । ‘त्यो भाइब्रेसन प्रयोग गरेको भोलिपल्ट निकै गाह्रो भएपछि अस्पताल जाने निधो गरें,’ त्यो क्षण सम्झँदै सुनाउँछन्,’त्यही त हो नि सरकारले पनि सकेसम्म श्वास फेर्न गाह्रो भएपछि मात्र अस्पताल जानु भनेको थियो । त्यसैले श्वास फेर्न गाह्रो हुने अवस्था कुरें ।’

कात्तिक १४ गते अस्पताल पुग्दा साँझको ६ बजिसकेको थियो । डाक्टरहरुको ‘राउण्ड’ सकिसकेको थियो । त्यही बेला हो हँसाइरहने मनोजलाई अस्पतालमा देखेर अन्य बिरामीले ठट्टा गरेको । कमजोर अवस्थामै पनि मनोज उनीहरुतर्फ हेर्दै मुसुक्क मुस्कुराइदिए । श्वास फेर्न गाह्रो भएपछि त्यसदिन अस्पतालमा उनलाई अक्सिजन दिइयो । त्यो रात त्यतिकैमा बित्यो । भोलिपल्ट ‘एक्स रे’ गर्दा फोक्सो र छालाको बीचमा हावा भरिएको देखियो । ढाड दुख्दा प्रयोग गरेको त्यो भाइब्रेसन मेसिनले आफूलाई सिकिस्त बनाएको डाक्टरबाट थाहा पाउन उनलाई समय लागेन । त्यसपछि उनलाई आईसीयूमा सारियो ।

श्वास गन्दै बिताए आईसीयूका दिन

जनरल वार्डबाट आईसीयू नसारिञ्जेल उनी त्रसित थिए । आसीयूबाट कोभिडका बिरामी धेरै फर्कदैनन् भन्ने कुरा मनमा खेलिरहेको थियो । आईसीयू भन्ने बित्तिकै डरलाग्दो अवस्थाको रुपमा बुझ्थे पहिला उनी । तर आफैं त्यो ठाउँमा पुगेपछि आईसीयूमा अलि बढी ध्यानकासाथ बिरामीको उपचार गरिन्छ भन्ने बुझे । लोकल एनेस्थेसियाले उनलाई अर्धचेत बनायो ।

‘आईसीयूको पहिलो दिन फोक्सो र छालाबीचमा भरिएको हावा सिरिन्जले निकालिदियो । भोलिपल्टको ‘एक्स रे’मा हावा घटेको देखाएन । त्यसैले देब्रे काखीमुनि प्वाल पारेर लामो पाइप फोक्सोसम्म पुर्‍याएर त्यहाँबाट हावा निकालियो । ४/५ दिनसम्म त्यही पाइप र प्लास्टिक झुन्ड्याएर बसियो,’ उनले आईसीयूका दिन सम्झे । उनलाई लगातार ‘एन्टी’ कोरोना औषधि ‘रेमडिसिभिर’ खुवाइयो ।

समयमै कोरोनाको उपचार गर्न पाएको भए आईसीयूमा पीडादायक क्षण बिताउन पर्थेन भन्ने उनलाई लाग्छ । ‘मलाई लाग्छ अलि अलि च्याप्दा नै अस्पताल जाने अवस्था भइदिएको भए मेरो शरीरमा हातहतियार पसाउनु पर्दैन थियो होला,’ उनी सुनाउँछन् ।

मनोज बस्ने आईसीयूमा चार शय्याहरु राखिएका थिए । १ नम्बर बेडमा उनी बस्थे । २ नम्बरमा एकजना आमा बस्थिन् । आमालाई भेन्टिलेटरमा राखिएको थियो । वल्लो कोठा पल्लो कोठाको कुराहरु सजिलै सुनिन्थ्यो आईसीयूमा । अर्धचेत अवस्थामा पनि पल्लो छेउको आमाको रोदन/चित्कारले ४ दिनसम्म उनलाई उकुसमुकुस बनायो । ‘गएको पहिलो दिन ल अब बाँचियो भन्ने भा’थियो । आमाको पीडा र अर्को कोठाका बिरामीहरुको अवस्थाले एकदमै बिचलित बनायो मलाई,’ उनी सुनाउँछन् ।

उपचारकै क्रममा आमाले प्राण त्यागिन् । दुधको धाराबाट आमाको आत्मा उडेको दृश्य उनको आँखा अगाडि आयो । त्यो रातभर उनी निदाउन सकेनन् । ‘अर्धचेत दिमागमा धेरै कुराहरु खेलिरहेको थियो । एकातिर औषधि छ, अर्कोतिर जीवन मृत्युको लडाईं छ । आफू पनि त्यही रुपमा छु । अब मेरो पालो आयो होला भन्ने खालको त्रास थियो,’ त्यो बेलाको अनुभव सुनाए ।

त्यस दिनदेखि मृत्युको त्रास कम हुन थाल्यो । जीवन र मरण आफ्नो हातमा नरहेको सत्य स्वीकारेपछि मत्युप्रतिको भय कम हुँदै गयो । प्रत्येक दिन भेन्टिलेटर र आईसीयूमा नयाँ बिरामी आइरहन्थे । ती बिरामी देख्ने बित्तिकै मनमनै प्रार्थना गर्थे मनोज, ‘भगवान मेरो सम्पूर्ण आशिर्वाद लागोस् त्यो व्यक्तिलाई । त्यो व्यक्तिको दुखाइ कम होस् ।’

आईसीयूमा उनले नयाँ कुरा पनि अनुभव गरे । ‘यो ठाउँमा म कुनै न कुनै बेला आएको छु । पूर्वजन्ममा हो कि यही जन्ममा हो ? यो घट्ना, यी डाक्टरहरु यो परिस्थिति पहिला पनि कहिँ भोगेको छु,’ भन्ने अनुभव उनको अर्धचेत दिमागमा आइरहन्थ्यो ।

आईसीयूमा दिन र रात छुटाउन सक्थेनन् मनोज । त्रास, रोग अनि घाउले निदाउन दिन्थेन । त्यतिखेर विपश्यनाको श्वास फेर्ने विधिले निकै सहयोग पुर्‍यायो । उनी समय काट्न श्वास गन्ने विधि अपनाउँथे । आईसीयू बसाइको पाँचौ दिनपछि मनोबल उच्च हुँदै गयो । औषधिले काम गर्दै गयो । डाक्टरको परामर्शले शरीरमा उत्साह थपिँदै गयो । आईसीयूमा बिहानै भजन बजाइदिन्थे । दिउँसो पनि उत्साह दिने गीतहरु बजाउँथे ।

सातौं दिनपछि उनको शरीर तंग्रियो । त्यसदिन छोरा छोरीसँग फोनमा कुरा गरे । आमालाई पनि आफ्नो स्वास्थ्य अवस्था सुनाए । दाजू भाउजूसँग कुरा गरे । आफू निको हुँदै गरेको जानकारी दिँदै सुभकामना दिनेहरुलाई धन्यवादको पोस्ट हाले फेसबुकमा ।

उपचारकै क्रममा सीमित दर्शकबीच तपाईंको निधनको अपवाह फैलियो । यसबारे थाहा पाउनु भयो त ? भन्ने प्रश्नमा उनले भने, ‘ए हो र ? त्यो त सुनिन मैले । आयु नै बढ्यो त्यस्तो हो भने ।’

जीवनमा पहिलोपटक लामो समय बिताएर ११ औं दिनमा मनोज घर फर्के । आईसीयूको १० दिनको बसाइले जीवन र मृत्य के हो भन्ने सामान्य भोगाइ अनुभव गर्न पाएका छन् उनले । ‘जीवन भनेको बाँच्दाखेरी राम्रो काम, सबैको हित सोच्नु र सबैलाई समान रुपमा व्यवहार गर्नुमा आनन्द रहेछ । मैले गरेका राम्रा कुराहरु अन्तिम अवस्थामा सम्झँदा आनन्द दिँदा रहेछन् । म मर्दैछु भन्दा पनि कम्तिमा यति राम्रो काम गरेछु भन्ने हुँदो रहेछ । मैले यति नराम्रो काम गरें भन्ने कुराले पनि पोल्दो रहेछ,’ उनले सुनाए ।

अस्पतालको शय्यामा समय बिताउँदा बाँचुञ्जेल सबैको हित चिताउनुपर्ने गहिरो अनुभूति पाए । कोरोना पछाडिको जीवनशैलीमा कायापालट नभए पनि आफ्नो हाँस्यव्यंगमा अब मानवियता प्रमुख विषयवस्तु बनाउने उनको ध्येय छ । ‘कोरोनालाई यो पटक जितेको हो । अर्को पटक संक्रमण होला कि ! त्यसैले अझै बढी सचेत हुन जरुरी छ । एपीएफ अस्पतालको व्यवस्था हेर्दा त्यतिको उपचार सबै नेपालीले पाउनुपर्छ भन्ने लागेको छ ।’

https://ekantipur.com/

Facebook Comments Box
राजनिति
गोर्खा संसार

धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् घोषणा

ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । शपथ लिएपछि ओलीले आजै सिंहदरबारस्थित कार्यालयमा पदभारग्रहण

सबै पढनुहोस »
साहित्य
गोर्खा संसार

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा   पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

केपी ओली आज चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

पहिरोमा परी बेपत्ता भएका बसको खोजी आज पनि हुँदै

पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म बेपत्ता रहेका छन् ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हिजो दिनभर खोजी कार्य गरे पनि

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.