आँबुखैरेनी, १० बैंशाख ।
तनहुँको आँबुखैरेनीमा रहेको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना बिमा सुविधा ल्याएको छ । कोरोना भाईरस (कोभिड–१९) बाट हुन सक्ने आर्थिक क्षतिलाई कम गर्न बिमा कम्पनीसँग समन्व्य गरेर कुनै पनि मुनाफा नराखी सहकारीका सम्पूर्ण सदस्यहरुको सेवाको लागि सहकारीले कोरोना बिमा सुविधा ल्याएको हो ।
कोरोना बिमा सुविधा अन्तर्गत सहकारीका सदस्यहरुले ५ सय रुपैंयाको कोरोना बिमा गराउदा पि.सि.आर. टेस्ट मार्फत पोजेटिभ देखिएमा ५० हजार रुपैंया र एक हजार रुपैंयाको कोरोना बिमा गराउदा पि.सि.आर. टेस्ट मार्फत पोजेटिभ देखिएमा १ लाख रुपैंया प्राप्त गर्ने सहकारीका अध्यक्ष रत्नकुमार श्रेष्ठले बताउनुभयो । १२ महिनाको अवधि रहेको यस कोरोना बिमा योजना, ३ महिना देखि ९९ वर्ष उमेर सम्मका सदस्यहरुको लागि लागू गरिएको सहकारीका सचिव प्रेम कुमार श्रेष्ठले जानकारी दिनुभयो । यो सेवा लिन सहकारीका सदस्यहरुले कार्यालय सम्म पुग्नु नपर्ने र घरमै बसेर फोन मार्फत सेवा लिन सकिने सहकारीका सचिव श्रेष्ठले बताउनुभयो । यसैगरी, सहकारीमा काम गर्ने सम्पूर्ण कर्मचारीहरुको लागि १ लाख रुपैंयाको बिमा गरिएको सहकारीले जनाएको छ ।