पालुङ्टारमा १८ बेडकाे क्वारेन्टाइन तयार

गोरखाको पालुङ्टार नगरपालिकाले सामुहिक क्वारेण्टाइन तयार गरेको छ । वडा नं. ५ ठाँटीपोखरीस्थित धर्मावती प्राविको भवनलाई सामुहिक क्वारेण्टाइन बनाएको मेयर दीपकबाबु कँडेलले जानकारी दिए । त्यहाँ १८ बेड क्षमताको क्वारेण्टाइन बनाइएको उनले बताए ।

आइतबार दिनभर पनि क्वारेण्टाइनलाई स्तरोन्नती गर्ने काम गर्ने स्वास्थ्य शाखा दीपेन्द्र गिरीले जानकारी दिए । ‘सामान्य तरिकाले क्वारेण्टाइन तयार गरेका छौं । आज दिनभर क्वारेण्टाइनस्थल वरिपरि क्लोरिन छर्कने, सरसफाइ तथा पुछपाछ गर्ने काम हुन्छ’, उनले भने, ‘औषधी, उपकरण पनि तयार भइसकेको छ । तातोपानी चिसोपानीको व्यवस्था गर्नुपर्ने छ ।’

आँपिपिपल अस्पतालमा चार बेडको आइसोलेशन वार्ड तयार गरेको उनले बताए । डब्लुएचओको मापदण्डअनुसारको पिपिई पनि तयार रहेको उनले बताए । ‘आँपपिपल अस्पतालमा पाँचसेट पिपिई थियो । अहिले ३० सेट ल्याएका छौं’, उनले भने, ‘२९ सेट पिपिई स्थानीयस्तरमा नै तयार गरेका थियौं ।’ अक्सिजन सिलिण्डर, मास्क पनि पर्याप्त भएको तर किटको अभाव रहेको उनले बताए । पालुङ्टार नगरपालिकाभरि विदेशबाट आउनेको संख्या २६ रहेको छ । उनीहरुको अबस्था अहिलेसम्म सामान्य रहेको नगरपालिकाले जनाएको छ । ‘अहिले त सबैलाई होम क्वारेण्टाइनमा बस्न भनेका छौँ ।

थप समस्या देखा प¥यो भने यहाँ ल्याउने हो’, नगरप्रमुख कँडेलले भने ‘अहिलेसम्म विदेशबाट आएका २६ जना भेटिएका छन् । उनीहरुलाई वडा अध्यक्ष, वडा सदस्य, स्वास्थ्यका कर्मचारीहरुले रेखदेख गरिरहनु भएको छ ।’ अहिलेसम्म केही समस्या नदेखिएको उनले बताए ।

सामुहिक क्वारेण्टाइन सञ्चालनका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको सञ्चालक तथा व्यवस्थापन समिति गठन गर्नुपर्ने प्रावधान छ । तर गोरखामा स्रप्रजिअ छैनन् । समितिको संयोजक तोक्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । एमपीएच वा एमडीजीपी संयोजक रहेको स्वास्थ्यकर्मीको समूह गठन पनि हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ । सामुहिक क्वारेण्टाइनका लागि मेयरको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.