गोरखाको भिमसेन थापा गाउँपालिका १ घ्याम्पेशालमा दुल्लभ सामुदायिक सिकाई केन्द्र निर्माणका लागि नेपाली कांग्रेसका नेता, समाजसेवी एवं पर्यटन ब्यवशायी प्रेम खत्रीले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।
सिकाई केन्द्रलाई उनले सोमवार उक्त रकम उपलब्ध गराएका सिकाई केन्द्रका अध्यक्ष बालकृष्ण लामिछानेले बताए । अन्तराष्ट्रिय नारी दिबसको अवसरमा घ्याम्पेशालमा आयोजित कार्यक्रममा कांग्रेस महासमिति सदस्य समेत रहेका गोरखाको आरुपोखरीका खत्रीले १० लाख दिने घोषणा गरेका थिए । उक्त घोषणा अनुसार सिकाई केन्द्रको खातामा रकम जम्मा भएको छ ।
उक्त सिकाई केन्द्रका लागि पाँच लाख रुपैयाँ भीमसने थापा गाउँपालिका चालु वर्ष बिनियोजन गरेको छ । सोही रकम र खत्रीबाट प्राप्त भएको १० लाख रुपैयाँबाट अहिले धमाधम भबन निर्माण भईरहेको सिकाई केन्द्रका अध्यक्ष लामिछानेले बताए ।
गोरखामा २७ वटा सामुदायिक सिकाई केन्द्र छन् भने भिमसेन थापा गाउँपालिकामा तीनवटा छ ।
सिकाई केन्द्रले बिपन्न बर्गका महिलाको आय आजर्न, जिबिकोपाजर्न, गरिबी निवारण र निरन्तर शिक्षा जस्ता कार्यक्रम संचालन गर्दै आएको छ । लक्षित बर्ग तर्फ कार्यक्रम चलिरहेको उनले बताए ।
बिउ पुँजी दिने, तालिम दिने, मासिक बचत गर्न सिकाउने जस्ता गतिविधी सिकाई केन्द्रले गर्ने गोरखा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष समेत रहेका बालकृष्ण लामिछानेले बताए ।