६८ वर्षका लालबहादुर कक्षा १२ को परीक्षा दिँदै : पढाइलाई उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण


गोर्खा

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ निवासी ६८ वर्षका लालबहादुर बि.क. यतिबेला कक्षा १२ को परीक्षा दिँदै हुनुहुन्छ।
विक्रम सम्वत २०१४ सालमा हालको पालुङटार नगरपालिका वडा नम्बर ६ कालामाटामा जन्मनुभएका बि.क. यतिबेला कक्षा १२ को परीक्षामा सहभागी भइरहँदा धेरैको ध्यानाकर्षण हुनुका साथै धेरैको प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँको पढाइप्रतिको लगाव र प्रेरणाले आफूहरुलाई पनि पढाइप्रति उत्साह जागेको उहाँसँगै परीक्षामा सहभागी भएका विद्यार्थीहरु ले बताएका छन्।
तत्कालीन समयमा गाउँमै रहेको विद्यालयबाट सामान्य अध्ययन गरेका बि.क. विक्रम सम्वत २०३५ सालमा नेपाल प्रहरीको जागिरको सिलसिलामा भर्ती भएर २० वर्षसम्म सेवा गरी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट सेवा निवृत्त हुनुभएको थियो।
परिवारमा ४ भाइ छोरा र १ बहिनी छोरी मध्ये का साइँलो सन्तान भएको र तत्कालीन समयमा अध्ययन कार्यलाई निरन्तरता दिनको लागि आर्थिक समस्याका कारण पछि परेको आफूले बताउनु भएको छ । पढाइप्रति आफूलाई रुचि लागेको भएतापनि तत्कालीन समयमा विद्यालयमा शुल्क तिर्नुपर्ने तर आफ्नो पारिवारिक विपन्नताका कारण शुल्क तिर्न नसक्दा आफूले अध्ययन गर्न नपाएको पीडा मनभित्रै रहिरहेको थियो ।
खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ बि.क.ले नेपाल प्रहरी मा सेवारत भइरहेकै अवस्थामा स्व-अध्ययन गरी विक्रम सम्वत २०४२ सालमा रामशाह मा.वि. आँबु खैरेनी केन्द्रबाट प्राइभेट एस.एल.सी. परीक्षा दिई तृतीय श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो।
त्यसपछि जागिरको सिलसिलामा आफूभित्र पढ्ने रहर हुँदाहुँदै पनि पढ्न नपाएको उहाँ बताउनुहुन्छ । २०५५ सालपछि जागिरबाट निस्किएर विभिन्न राजनीतिक मोर्चामा रहेर काम गर्दै आउनुभएका बि.क. २०५९ सालदेखि सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादी को विभिन्न तहमा रहेर पूर्णकालीन रुपमा काम गर्दै आउनुभएको थियो। उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा पालुङटार नगरपालिकाको उपमेयर पदमा समेत उम्मेदवारी दिई पराजित हुनुभएको थियो। राजनीतिक सामाजिक र शैक्षिक रूपमा समेत सचेत रहनुभएका बि.क लक्ष्मी मा.वि गाईखुर र जनज्योति आधारभूत विद्यालय कालामाटाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर काम समेत गरिसक्नुभएको छ।
पछिल्लो समय राजनीतिक रूपमा नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्यको रुपमा समेत काम गर्दै आउनुभएको बि.क.को ३ जना नाति र ६ जना नातिनीहरु रहेका छन्।
तर भित्रै देखि पढ्ने चाहना भइरहेको भए तापनि विभिन्न परिवेशले गर्दा अध्ययन गर्न नसक्नु भएका उहाँले गत वर्ष पालुङटार नगरपालिकास्थित भवानी माध्यमिक विद्यालयको कक्षा ११ मा भर्ना भई आफ्नो अध्ययनलाई निरन्तरता दिनुभएको थियो। कक्षा ११ र १२ मा शिक्षा शास्त्र संकाय अन्तर्गत ऐच्छिक नेपाली विषय लाई मूल विषय बनाएर अध्ययन गर्नुभएका बि.क.को लेखन शैली अत्यन्तै राम्रो स्पष्ट र छिटो भएको उहाँलाई अध्यापन गराउनुभएका नेपाली शिक्षक चेतनाथ पन्तले बताउनुभयो। विद्यालय जाँदाखेरि विद्यालय ड्रेसमै जाने र अनुशासित भएर कक्षामा बस्ने गरेको देख्दा सबै शिक्षक विद्यार्थी र समाजलाई समेत प्रेरणा को स्रोत बन्नुभएका बि.क कक्षा १२ को अध्ययन पश्चात ब्याचलर तह पनि अध्ययन गर्ने सोचमा रहेको बताउनुहुन्छ । परीक्षा हलमा पनि अत्यन्तै शान्त स्वभावमा मर्यादित भएर परीक्षा दिइरहनुभएको अमर ज्योति जनता मा.वि परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष रमेश मुडबरीले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.