आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा गुणस्तर सुनिश्चितता समिति (Internal Quality Assurance Committee/IQAC) सबलीकरण सम्बन्धी एक दिने गोष्ठी आइतबार दिउँसो बन्दीपुरमा सम्पन्न भएको छ।
उक्त गोष्ठीको व्यास नगरपालिकाका नगरप्रमुख एवं नेपाल पब्लिक क्याम्पस सङ्घका पूर्व केन्द्रीय अध्यक्ष बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभएको थियो।
गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले सामुदायिक क्याम्पसहरूमा छुद्र राजनीतिलाई प्रवेश दिन नहुने र क्याम्पसको भौतिक शैक्षिक आर्थिक गुणस्तरका लागि सञ्चालक समिति र प्राध्यापकहरुले निरन्तर प्रयास जारी राख्नुपर्ने बताउनुभएको थियो। विद्यार्थी पलायन र आर्थिक स्रोतको सिमितता जस्ता संकटहरूबाट गुज्रिरहेका सामुदायिक क्याम्पसहरूले अभिभावक र विद्यार्थीहरूको विश्वास जित्नका लागि युग सुहाउँदो प्रविधि , शिक्षण विधि र सोध तथा अनुसन्धानलाई महत्व दिएर कार्यक्रमहरू अगाडि बढ्न सुझाव दिनुभएको थियो।
सो अवसरमा बोल्दै बन्दीपुर गाउँ पालिकाका प्रमुख सुरेन्द्रबहादुर थापाले सामुदायिक क्याम्पसहरूले आपसमा सहकार्य गर्ने वातावरण निर्माण गर्न र आर्थिक स्रोत परिचालन गर्नका लागि क्याम्पसका सरोकारवालाहरूको विश्वास जित्ने कार्यक्रमहरू अगाडि ल्याउनुपर्ने बताउनुभएको थियो।
सो अवसरमा नेपाल पब्लिक क्याम्पस सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं जनमैत्री क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ ओझाले सामुदायिक क्याम्पसहरूले झेलेको वर्तमान समस्या उच्च शिक्षामा प्रभावकारी नीतिको अभावले आएको बताउँदै त्रिभुवन विश्वविद्यालय , विश्वविद्यालय अनुदान आयोग र नेपाल सरकारले सामुदायिक क्याम्पसहरुले उच्च शिक्षामा पुर्याएको योगदानलाई मनन गर्दै यि क्याम्पसहरूको विकास र सुधारमा महत्वपूर्ण कार्यक्रम नआएकोले सामुदायिक क्याम्पस र ती संस्थाहरू बीच विश्वासको संकट रहेको बताउनुभएको थियो। ।
कार्यक्रमलाई आदिकवि भानुभक्त क्याम्पसका सञ्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठले सम्बोधन गर्दै सामुदायिक क्याम्पसमा क्याम्पस सञ्चालक समितिले क्याम्पस प्रशासनको सहयोगको रुपमा कार्य गर्नुपर्ने र गुणस्तर सुनिश्चित समुदायको सहयोग जुटाउनमा मुख्य भूमिका खेल्नुपर्ने राय राख्नु भएको थियो ।
उक्त उद्घाटन कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष गौरव पन्थको पनि उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग क्युए डिभिजनका उपनिर्देशक नारायण प्रसाद भण्डारी र त्रिभुवन विश्वविद्यालयका प्रा डा प्रदिपचन्द्र गौतमले नेपालको उच्च शिक्षा नीति र अवस्था , आन्तरिक र बाह्य गुणस्तर सुनिश्चित बीचको अन्तर, गुणस्तर सुनिश्चितता का बेन्चमार्कहरू , क्याम्पसको स्वमूल्याङ्कन प्रतिवेदन तयार गर्दा ध्यान दिनुपर्ने विषयहरू , दूरदृष्टि , अभियान , लक्ष्य र उद्देश्य विचको तारतम्य मिलाउने विधि र प्रक्रिया आदि विषयमा सहजीकरण गर्नुभएको थियो।
उक्त गोष्ठीमा सहभागी क्याम्पसहरूको आइक्यूएसी समितिहरूले सम्पन्न क्रियाकलापहरू , क्याम्पसका असल अभ्यासहरू , क्यूएए प्राप्ति पछि क्याम्पसहरूले हासिल गरेका उपलब्धि र वर्तमान अवस्थामा क्याम्पसले झेलेका चुनौतीका विषयमा आफ्नो अनुभवहरू पेश गरेका थिए।
गोष्ठीमा क्युएए नवीकरणका लागि क्याम्पसहरूले गर्नुपर्ने तयारीको बारेमा छलफल गरिएको थियो।
गोष्ठीका उद्घाटन सत्रका सहभागीहरूलाई आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हडखलेले स्वागत गर्नुभएको थियो। गोष्ठीको उद्घाटन सत्रको सञ्चालन सहायक क्याम्पस प्रमुख सागर पौडेलले गर्नुभएको थियो। गोष्ठीको उद्घाटन सत्र क्याम्पसको आइक्युएसी प्रमुख विशेश्वर तिमेलसेनाको अध्यक्षतामा भएको थियो।
गोष्ठीमा क्याम्पसका आइक्युएसी कमिटीका सदस्यहरु – क्याम्पसका मानविकी तथा समाजशास्त्र विभागका प्रमुख एवं पब्लिक क्याम्पस प्राध्यापक सङ्घका गण्डकी प्रदेश अध्यक्ष बिमल , क्याम्पसका सहायक प्राध्यापक इन्जिनियर अनमोल , क्याम्पसका प्रशासकीय अधिकृत बसन्ती थापा आले मगर , लेखा अधिकृत विष्णुप्रसाद रिजाल समेतको सहभागिता रहेको थियो।
उक्त गोष्ठीमा १० जिल्लाका १३ वटा क्यूएए प्राप्त क्याम्पसका क्याम्पस प्रमुख सहायक क्याम्पस प्रमुख आइक्युएसी प्रमुख आइक्युएसिसका सदस्य र क्याम्पसका कर्मचारीहरू गरी ३८ जनाको सहभागिता रहेको थियो।
उक्त गोष्ठीमा आदिकवि भानुभक्त क्याम्पस र द्रव्य शाह बहुमुखी क्याम्पसका गरी २ सञ्चालक समितिका अध्यक्ष , आदिकवि भानुभक्त , वालिङ बहुमुखी , म्याग्दी , द्रव्य शाह , सप्तगण्डकी बहुमुखी र कुमारवर्ती बहुमुखी , सहिद नारायण पोख्रेल बहुमुखी क्याम्पस गरी ६ जना क्याम्पस प्रमुखहरूको सहभागिता रहेको थियो रहेको थियो।
उक्त गोष्ठीलाई ‘ अ वर्कसप अन इन्टरनल क्वालिटि एसु अरेन्सः अ पाथवे टु कन्टिनुअस इम्प्रुभमेन्ट ‘ नाम दिइएको थियो । उक्त कार्यशालामा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्याययन (QAA Certificate) प्राप्त गरिसकेका र आदिकवि भानुभक्त क्याम्पससँग सस्थागत सहकार्यको सम्झौता (Memorandum of Understanding/MoU) गरेका ९ वटा समेत गरी जम्मा १३ वटा सामुदायिक क्याम्पस हरुको सहभागी रहेका थियो ।
सो अवसरमा आदिकवि भानुभक्त क्याम्पस र म्याग्दी बहुमुखी क्याम्पस , बेनी म्याग्दी तथा द्रव्यशाह बहुमुखी क्याम्पस , लक्ष्मी बजार गोरखा बीच संस्थागत सहकार्यको सम्झौतामा हस्ताक्षर कार्यक्रम पनि सम्पन्न भएको थियो।
गोष्ठीको समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। उक्त अवसरमा क्याम्पसको आइक्यूएसी प्रमुख विश्वेश्वर तेमेल्सिनाले गोष्ठीका सहजकर्ता द्वयलाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो। गोष्ठीका लागि निःशुल्क स्थान उपलब्ध गराएकोमा होटल दरबार हिमालयन बन्दीपुरका प्रोप्राइटर बैस गुरुङलाई प्रशंसापत्र प्रदान गरिएको थियो।