यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाका ११ वटा विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । पालिकाहरुबाट प्राप्त जानकारी अनुसार धार्चे गाउँपालिकाका चार, सिरानचोक गाउँपालिकाबाट तीन, आरुघाट गाउँपालिकाका दुई, गोरखा नगरपालिका र सहिदलखन गाउँपालिकाका एक–एक विद्यालयबाट शून्य प्रतिशत उतीर्ण भएका हुन् ।
सिरानचोक गाउँपालिकाको नेपाली मावि केराबारीबाट २२ जनाले परीक्षा दिएकामा कसैले पनि परीक्षा उतीर्ण गर्न सकेनन् भने १४ जना सहभागी गराएको हिमाली मावि गाँखु र १२ जना सहभागी गराएको चन्द्रोदय माविका कुनै पनि विद्यार्थी उतीर्ण हुन नसकेका हुन् ।
त्यस्तै धार्चे गाउँपालिका ५ गुम्दास्थित सूर्योदय मावि, वडा नं. ७ लापुस्थित कालरात्री मावि, लापुवेशीस्थित प्रभातकिरण मावि र वडा नं. ६ काशिगाउँस्थित मञ्जुश्री माविको एसईई नतिजा शून्य प्रतिशत रहेको छ । आरुघाट गाउँपालिकाका गणेश मावि र अलैँचे माविको पनि उतीर्ण संख्या शून्य रहेको पालिकाले जनाएको छ ।
गोरखा नगरपालिका ८ स्थित रत्नलक्ष्मी मावि डुम्रीडाँडा र सहिद लखन गाउँपाकिला १ स्थित महेन्द्रशक्ति मावि बक्राङका सहभागी परीक्षार्थीहरु कोही पनि उतीर्ण हुन सकेनन् ।
जिल्लाबाट सहभागीमध्य ३३ प्रतिशत परीक्षार्थी मात्र उतीर्ण भएका छन् । जम्मा तीनहजार छसय २८ जनाले परीक्षा दिएकामा एकहजार एकसय ६३ जना उतीर्ण भएका र दुईहजार चारसय ६५ जना परीक्षार्थीहरुको नतिजा अवर्गीकृत(एनजी) भएको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ ।
पालिकाहरुका अनुसार गोरखा नगरपालिकाबाट ७५८ जनाले एसईई दिएकामा ३२४ जना उतीर्ण भएका छन् भने पालुङटारबाट ५४७ जनाले परीक्षा दिएकामा २३५ जनाले मात्र उतीर्ण गरेका छन् । गण्डकी गाउँपालिकाबाट ३०४ जनाले परीक्षा दिएकामा ९८ जना मात्र उतीर्ण भएका छन् भने सहिद लखन गाउँपालिकाबाट २३९ जनाले परीक्षा दिएकामा जम्मा ५१ जना मात्र उतीर्ण भएका छन् ।
त्यस्तै भीमसेनथापा गाउँपालिकाबाट २८६ जनाले परीक्षा दिएकामा १०२ जना मात्र उतीर्ण भएका छन् भने अजीरकोट गाउँपालिकाबाट २०६ जनाले परीक्षा दिएकामा ३६ जना मात्र उतीर्ण भएका छन् । त्यस्तै बारपाक सुलीकोट गाउँपालिकाबाट २९७ जना परीक्षार्थीले परीक्षा दिएकामा ६४ जना मात्र उतीर्ण भएका छन् भने धार्चेबाट २०४ जना सहभागी भएकामा १६ जना मात्र उतीर्ण भएका छन् ।
त्यसैगरी चुमनुब्री गाउँपालिकाबाट ५५ जना सहभागी भएकामा १६ जना उतीर्ण भएका छन् भने सिरानचोक गाउँपालिकाबाट २७१ जना सहभागी भएकामध्य ७३ जता मात्र उतीर्ण भएका छन् । आरुघाट गाउँपालिकाबाट सहभागी ३१४ जना परीक्षार्थीमध्य ९९ जना मात्र उतीर्ण भएका पालिकाहरुले जनाएका छन् ।
दरौदीबाट साभार