“बसे है पालेदाई” गित ले नकारात्मक सन्देश दिएको भन्दै सम्पूर्ण संचार माध्यमहरूबाट हटाउन माग का सन्दर्भमा अन्नपूर्ण गाउँपालिका, कास्कीमा रहेका

बसे है पाले दाई भन्ने गीतले शिक्षक तथा विद्यालयप्रति मानमर्दन भएको भन्दै कास्कीका अन्नपूर्ण गाउँपालिकाका शिक्षक संगठनहरूले सम्पूर्ण संचार माध्यमहरुबाट उक्त गीतलाई हटाउन माग गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन्।

विद्यालय र शिक्षकहरूप्रति नकारात्मक सन्देश दिने खालका अभिव्यक्तिसहित गीत रचना गरिएको र विद्यालय भित्रै छायांकन गरिएको विषय अत्यन्त संवेदनशील भएको भन्दै अन्नपूर्ण गाउँपालिकाका शिक्षक संगठन संघ तथा संगठनले उक्त गीत हटाउन माग गर्दै आज प्रेस विज्ञप्ति जारी गरेका हुन्

“बसे है पालेदाई” गितका सन्दर्भमा अन्नपूर्ण गाउँपालिका, कास्कीमा रहेका शिक्षकका पेसागत संगठनहरुको संयुक्त धारणा !

संयुक्त विज्ञप्ति

नेपाली लोक भाका, संस्कार र संस्कृति हाम्रा अमूल्य सम्पत्ति हुन् । यस्ता लोक संस्कृतिको संरक्षण गर्दै यिनको विकास र प्रवर्धन गर्नु हामी सबैको दायित्व हो । लोक गीत, सङ्गीतको संरक्षण, सङ्कलन र प्रवर्धनमा नेपालका लोक कलाकारहरूले गर्नुभएको योगदानको हामी उच्च सम्मान गर्दै आगामी दिनमा समेत गाउँघरमा लुकेका लोक संस्कृति र सङ्गीतलाई उचित माध्यमबाट विश्वभर परिचित गराउन कलाकारको योगदान रहने कुरामा हामी विश्वस्त छौँ ।

साहित्य, सङ्गीत र कलाको माध्यमबाट देशका विभिन्न परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कलाकारहरू समाज परिवर्तनका सम्बाहक हुन् । सङ्गीतमा हुने शक्तिले समाजलाई छिटो र सहजै सन्देश प्रवाह गर्न सकिन्छ, त्यसैले हरेक परिवर्तनमा विभिन्न गीतहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । जनजिब्रोमा झुन्डिएको एउटा गीतले समाजलाई बर्सौँसम्म त्यही बाटोमा हिँडाउन भूमिका खेल्दछ ।

यसै सन्दर्भमा नेपाली लोक सङ्गीत क्षेत्रका प्रतिष्ठित कलाकारहरू मिलेर भर्खरै सार्वजनिक भएको लोकभाका ‘बसे है पालेदाइ’ गीतमा प्रयोग भएका शब्द, हाउभाउ र भिडियोमा राखिएको अभिनयका विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विद्यालय जस्तो ज्ञानको मन्दिरलाई माया प्रेम गर्ने थलोका रूपमा चित्रण गर्दै नेपाली राष्ट्रिय गानको अपमान गरी राष्ट्रिय गान गाएको अवस्थामा गरिएका विभिन्न हर्कत खेदजनक छन् । शिक्षकहरूलाई अपमानित हुने गरी राखिएका टुक्का, विद्यालयमा गरिएको छायाङ्कन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेको रूपमा गरिएको चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालय शिक्षाप्रति नै नकारात्मक भाव प्रकट गरेको छ । विद्यार्थीहरूले विद्यालयभित्र नै शिक्षकमाथि अनादर गरेका दृश्यहरूले विद्यार्थीको मानसिकतामा नकारात्मक प्रभाव पार्ने कुरामा समेत उक्त गीतले कुनै ख्याल नगरेको देखिन्छ ।

यसरी गीतको व्यापारलाई मात्र केन्द्रमा राखी शिक्षा, समाज र साहित्यको कुनै गरिमाको ख्याल नगरी सार्वजनिक गरिएको उक्त गितलाई तुरुन्त प्रतिवन्ध गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै सम्पूर्ण मिडियाबाट उक्त गितलाई हटाउन जोडदार माग गर्दछौँ । हाम्रो मागलाई बेवास्ता गरेमा गीतलाई बहिष्कार गर्दै गीतसँग सम्बन्धित कलाकारहरूलाई सामूहिक बहिष्कारसमेत गरिने व्यहोरा जानकारी गराउँदै यसबाट पर्ने क्षतिको जिम्मेवार स्वयम् गीतसँग सम्बन्धित व्यक्ति नै हुने समेत यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौँ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.