Gorkha Sansar

२५ थान सालको गोलिया सहित एक ट्याक्टर प्रहरीकाे नियन्त्रणमा

जेठ २८, गोरखा ।
गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ बाट प्रहरीले २५ थान सालको गोलिया सहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।
वडा नं ७ च्याङलीस्थित एक स्थानीयले आफ्नै बारीमा रहेको सालको काठ घर बनाउने क्रममा चिराउन लैजादै गर्दा फर्निचर उद्योग नजिकैबाट ग.१त.४६०१ नम्बरको ट्याक्टर सहित २५ थान सालको गोलिया नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका इन्चार्ज सोमदास ढकालले बताउनुभयो ।
बरामद काठ र ट्याक्टर मुचुल्का गरेर हिजो नै जिल्ला बन कार्यालय लैजानको लागि तयारी गरिरहेको भए पनि स्थानीयहरुको अवरोधका कारण आज मात्रै बन कार्यालयका प्रतिनिधीको रोहबरमा काठसहितको ट्याक्टर इलाका प्रहरी कार्यालय ठाँटीपोखरीमार्फत जिल्ला बन कार्यालय पठाइएको छ । तर काठका धनी र ट्याक्टर चालकलाई भने प्रहरीले हिजो राती नै पक्राउ गरी लगेको थियो ।
प्रहरी कार्यालयले डिभिजन बन कार्यालयमा आज बुझाएको काठबारे बन कार्यालयले थप अनुसन्धान गर्ने बन अधिकृत होमबहादुर बल्छौँडीले बताउनुभयो ।
अस्थायी प्रहरी पोष्ट बिरुवाटारले केही महिना अघिमात्र एक ट्याक्टर सिसौका काठ बरामद गरेकोमा वडा कार्यालयको समन्वयमा रु.५,०००।— मात्र जरिवाना गरी छाडिएको थियो ।
यसैका आधारमा स्थानीय तथा जनप्रतिनिधीहरु भने प्रहरीले सबैमा समान रुपमा व्यवहार नगरेको र कसैलाई काखा र कसैलाई पाखा गरेको आरोप लगाएका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.