Gorkha Sansar

पहिरोले खानेपानीको पाइप बगाएपछि गाउँमा पानीको हाहाकार

धादिङ : पहिरोले खानेपानीको पाइप बगाएपछि रुबीभ्याली गाउँपालिका-५ छुम्राङ गाउँमा पानीको हाहाकार भएको छ। तत्काल पहिरो पन्छाएर  पाइप जडान गर्न नसकिने भएपछि यहाँका स्थानीय आकासको पानी संकलन गरेर पिउन बाध्य छन्। खानेपानीको पाइप जोड्नै नमिल्ने गरी पहिराले बगाएपछि गाउँमा खानेपानीको समस्या परेको हो। रुबीभ्याली गाउँपालिका-५ स्थित डेजोङबाट ल्याएको खानेपानीको पाइप असार १९ गतेको पहिरोले ठूलो क्षति पुर्‍याएको स्थानीय योराम तामाङले बताए। पहिरोले खानेपानीको पाइप क्षति गरेपछि गाउँमा खानेपानीको प्रबन्धसमेत नभएको तामाङले सुनाए। छुम्राङ गाउँमा १४ घर बस्ती छ। चारैतिरबाट भिरले घेरेको र पहिरो पनि खसेका कारण गाउँमा तत्काल नयाँ पाइपलाइन जडान गर्न नसकिने अवस्था रहेको वडा अध्यक्ष धिराज तामाङले जानकारी दिए। वडा अध्यक्ष तामाङका अनुसार पहिरोले पाइप अड्याउन बनाइएको तुइनसमेत टुटेको छ। अहिले गाउँबासीले आकाशे पानी संकलन गरेर पिउने गरेका छन्। धेरैको घरमा पानी संकलन गर्ने भाँडासमेत नहुँदा थप समस्या रहेको स्थानीय हिम्बा तामाङले बताए। यहाँका स्थानीयलाई एक वर्ष अघि शान्ति नेपाल नामक गैरसरकारी संस्था र वडा कार्यालयले खानेपानीको पाइप जडान गरिदिएका थिए। पहिरोका कारण समस्या भएपछि समस्या समाधानका लागि अध्ययन भइरहेको वडा अध्यक्ष तामाङले बताए।

थप समाचार

  • विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै

  • भ्रष्टाचारको आरोप: डोल्पाका प्राविधिक कार्यालयका प्रमुख र चार जनाविरुद्ध उजुरी

  • नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित

  • खोलामा चिप्लिएर एक महिलाको मृत्यु

  • नेपालमै ५० वर्षलाई पुग्ने ग्यासको भण्डार

  • मुलुकभर डेंगी, १४०० बढी संक्रमित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.