Gorkha Sansar

एक दिनमा ७० जनामात्र विवरण दर्ता, ताप्लेजुङमा सेवा लिन ३ दिन कुर्नुपर्ने

ज्येष्ठ नागरिकदेखि सर्वसाधारणसम्म हैरान, ताप्लेजुङमा परिचयपत्रका लागि लामो प्रतीक्षा

ताप्लेजुङ, २२ साउन । राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएपछि ताप्लेजुङमा परिचयपत्र बनाउन सेवाग्राहीको भीड बढ्दै गएको छ। सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्ने, राहदानी बनाउने जस्ता सेवाका लागि राष्ट्रिय परिचयपत्र चाहिने भएपछि जिल्ला प्रशासन कार्यालयमा दैनिक १०० भन्दा बढी सेवाग्राही आउने गरेका छन्।

जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र शाखाका नायब सुब्बा रमेशप्रसाद सिग्देलका अनुसार भीड बढेसँगै कार्यालयले पछिल्लो केही दिनदेखि साँझ ७:३० बजेसम्म सेवा दिँदै आएको छ। सेवाग्राहीमध्ये करिब ६५ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन्।

शाखाका कम्प्युटर अपरेटर वसन्त निरौलाले ज्येष्ठ नागरिकको विवरण दर्ता गर्न समय लाग्ने र कहिलेकाहीँ प्रणाली (server) डाउन हुने समस्या हुँदा एक दिनमा ७० जनासम्मको मात्र विवरण दर्ता गर्न सकिने जानकारी दिए।

गाउँदेखि सदरमुकाम फुङ्लिङसम्म आएका सेवाग्राहीले २–३ दिन लाइनमा बस्नुपर्ने अवस्था आएको गुनासो गरेका छन्।
सिदिङ्वा गाउँपालिका–४ की कमला लिम्बूले दुई दिनको प्रतीक्षा पछि साँझ ७ बजे फारम दर्ता गराएको बताइन्। उनीजस्तै थुप्रै नागरिकले होटलमा बस्ने, खानपान र यात्रा खर्च जोड्दा परिचयपत्र बनाउन निकै खर्च हुने बताएका छन्।

सर्वसाधारणको भनाइ अनुसार, आफ्नो वडा वा पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउने सुविधा उपलब्ध भएमा यस्तो कठिनाइ हुन नपर्ने थियो।

जिल्ला सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार हालसम्म ताप्लेजुङमा ७७ हजार ६८८ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम दर्ता गराइसकेका छन्। तीमध्ये ४१ हजार २६६ पुरुष र ३६ हजार ४२२ महिला रहेका छन्।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.