काठमाडौं – नेपालको प्रहरी इतिहासमा पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना हुन लागेको छ। ७४ वर्षपछि नेपाल प्रहरीले भदौ ५ र ६ गते महिला प्रहरीको सहभागिता र योगदान सम्झँदै ऐतिहासिक सम्मेलन गर्न लागेको हो ।
प्रहरी प्रधान कार्यालयले सम्मेलनको सम्पूर्ण संयोजनको जिम्मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजन अधिकारीको नेतृत्वमा रहेको ६ सदस्यीय समितिलाई दिएको छ । सम्मेलनमा सबै युनिटबाट कम्तीमा एक महिला प्रहरी प्रतिनिधि पठाउने लक्ष्य राखिएको छ ।
लैंगिक समानता र न्याय प्रवाहीकरण उद्देश्य
प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, सम्मेलनको उद्देश्य प्रहरी संगठनभित्र लैंगिक समानता प्रवर्द्धन गर्नुका साथै महिला प्रहरीको व्यावसायिक सशक्तिकरण र सहभागितालाई थप मजबुत बनाउनु हो ।
“महिलाको लामो योगदानको समीक्षा गर्दै संगठनलाई महिलामैत्री बनाउन आगामी रणनीति तय गरिनेछ,” घिमिरेले बताए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयकी एसपी बसुन्धरा खड्का अनुसार, सम्मेलनमा ‘हिजो के गरियो, आज कहाँ छौं र भोलिका प्राथमिकता के हुन्’ भन्नेबारे गहिरो छलफल हुनेछ ।
महिला प्रहरीको संख्या १२.४१ प्रतिशत
नेपाल प्रहरीमा हाल ७४ हजार ८०६ प्रहरी कार्यरत छन्, जसमा १२.४१ प्रतिशत अर्थात् ९ हजार २८६ जना महिला प्रहरी छन् । डीआईजी दर्जासम्म महिलाहरू पुगेका छन् । एआईजी दर्जासम्म पुग्ने महिला प्रहरीमा पूजा सिंह, मीरा चौधरी, किरण बज्राचार्य, दुर्गा सिंह चन्द र डा. आशा सिंह रहेका छन् ।
महिला प्रहरीको संख्याले वरिष्ठ दर्जामा केही कम देखिए पनि जवान र सहायक दर्जामा उनीहरूको उल्लेखनीय उपस्थिति छ ।
पदअनुसार महिला प्रहरी संख्या:
डीआईजी – १
एसएसपी – ६
एसपी – ८
डीएसपी – ३९
इन्स्पेक्टर – १५४
सई/असई/हवल्दार/जवान – हजारौं संख्यामा
विदेशी सहभागिता नरहने
महिला प्रहरीको आन्तरिक क्षमता र भूमिकामाथि केन्द्रित हुने सम्मेलनमा विदेशी अथिति वा प्रहरीको सहभागिता नरहने बताइएको छ । सम्मेलनले नेपाल प्रहरीको लैंगिक नीति २०८१ लाई व्यावहारिकरूपमा कार्यान्वयन गर्ने दिशामा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।