पालुङटारमा दूध र मासु उत्पादनमा संलग्न किसानलाई अनुदान

गोरखा– गोरखाको पालुङटार नगरपालिकाले दूध र मासु उत्पादनमा संलग्न किसानलाई अनुदान दिने भएको छ । पालिकालाई दुध र मासुमा आत्मनिर्भर हुनका लागि सो व्यवसायमा आबद्ध किसानलाई अनुदान दिइने भएको हो । बहुउद्देश्यीय कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७९ अनुसार दूध र मासुतर्फ ३/३ वटा कृषि समूहलाई अनुदान दिइने नगरपालिकाको पशु सेवा शाखाका अधिकृत रामप्रसाद देवकोटाले बताए ।

चालु आर्थिक वर्ष नगरपालिकाले यस कार्यक्रमका लागि ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । दूध उत्पादन वृद्धिका लागि दुहुनो उन्नत गाई भैंसी खरिदमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिनेछ । यस्तै, गोठ मर्मत सुधार, स्टिल क्यान, दूध संकलन गर्ने मिल्क क्यान, दूध दुहुने बाल्टी तथा दूध नाप्ने भाँडा खरिदमा पनि नगरपालिकाले ७५ प्रतिशत अनुदान दिनेछ । यस्तै, मासु उत्पादनतर्फ बोयर तथा उन्नत जातको प्रजनन्योग्य बोका खरिदका लागि ५० प्रतिशत अनुदान दिइनेछ ।

बाख्राको खोर निर्माण तथा सुधार, डिपिङ टयांक, बाख्रा तौलने तराजु खरिदमा ७५ प्रतिशत अनुदान दिइनेछ । अनुदान प्राप्तिका लागि नगरपालिकाले निवेदन दिन किसान समूहलाई आह्वान गरेको छ । आवेदनका लागि भदौ १५ गतेसम्मको समय तोकिएको छ । अनुदानका लागि कृषि समूहमा दूधतर्फ १० जना र मासुतर्फ २५ जनाको समूह हुनुपर्नेछ । हालसम्म अनुदान नपाएका किसान र किसान समूहलाई प्राथमिकता दिइने नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

विगतमा नगरपालिकाको स्वरोजगार कोषबाट ऋण लिएर चुक्ता नगर्ने किसानलाई प्राथमिकता नदिने नगरपालिकाले स्पष्ट पारेको छ । किसान समूहबाट आवेदन संकलन गरी नगरपालिकाले तयार गरेको कार्यविधि अनुसार अनुदान प्राप्तिका लागि समूह छनोट गर्ने पशु सेवा शाखाका अधिकृत देवकोटाले जानकारी दिए ।

‘यो महिनाभरमा छनोट प्रक्रिया सक्ने लक्ष्य छ,’ उनले भने, ‘अघिल्लो वर्ष कार्यविधि निर्माणमा ढिलाइ हुँदा यो कार्यक्रम लक्ष्यअनुसार सञ्चालन गर्न सकेनौं । त्यसैले चालु आर्थिक वर्ष सुरुमा नै कार्यान्वयन प्रक्रिया थालेको हौं ।’ छनोटमा परेका किसान समूहले आफैंले गाई, भैसीं तथा बोयर बोकासहित आवश्यक उपकरण खरिद गर्ने उनले बताए । ‘खरिदको काम सबै किसान समूहबाट नै हुन्छ,’ उनले भने, ‘नगरपालिकाले आवश्यक कागजात र अनुगमनका आधारमा अनुदान रकम किसान समुहलाई दिने हो ।’

पछिल्लो तथ्यांकअनुसार पालुङटार नगरपालिकामा वार्षिक १५ लाख लिटर दूध र एक हजार २५० क्विन्टल खसीबोकाको मासु उत्पादन हुदैं आएको छ । ‘नगरपालिकाको जनसंख्याको आधारमा प्रतिव्यक्ति वार्षिक ३५ लिटर दूध अपुग छ,’ पशु सेवा शाखाका प्रमुख देवकोटाले भने, ‘कुखुरा, बंगुरलगायतका अन्य पशुचौपायाको मासु पनि जोड्ने हो भने मासु उत्पादन राम्रो नै छ । तर खसीबोकाको मासु उत्पादन बढाउने हाम्रो लक्ष्य हो ।’ पशुपालनमार्फत् उत्पादन बढाई आयात घटाउने र किसानको आम्दानीको स्रोत पनि बढाउने लक्ष्यका साथ नगरपालिकाले अनुदानका कार्यक्रम सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.