खोटाङ, २४ साउन । खोटाङको रावाबेसी गाउँपालिका–६ हौचुरमा गोठ भत्किँदा १ भैसी र ५ वटा बाख्राको मृत्यु भएको छ। शनिबार बिहान करिब ५ बजे परेको अविरल वर्षाको कारण अमरबहादुर श्रेष्ठको काठ र टिनको छानो भएको गोठ भत्किएपछि यस्तो क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
दुर्घटनामा एक भैसी र थप ३ वटा बाख्रा सामान्य घाइते भएका छन् । स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते पशुको उपचार गरिएको छ ।
घटनामा मानवीय क्षति नभए पनि करिब ३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। प्रहरीका अनुसार गोठ पुरै भत्किएर प्रयोग अयोग्य भएको छ भने मृत पशुको मूल्य र गोठ पुनर्निर्माण खर्च समेत गरेर क्षतिको मूल्यांकन भइरहेको छ ।
स्थानीयहरूले अविरल वर्षाले गाउँमा अन्य ठाउँमा पनि स–साना क्षति पुर्याएको जानकारी दिएका छन् । प्रहरी र गाउँपालिका कार्यालयले पीडित परिवारलाई राहत तथा सहयोगका लागि समन्वय गर्ने तयारी गरेको छ ।