पालुङ्गटार मेयरमा माओवादीबाट ४ जनाको दावी, कसले मार्ला बाजी ?

गोरखा, २२ चैत ।

स्थानीयतह निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्गटार नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । चार दलिय गठबन्धन बन्ने भएपछि पालुङ्गटार नगरपालिका कसको भागमा पर्छ भन्ने टुङ्गो नलागे पनि आकांक्षीहरुले भने आफ्नो दावी प्रस्तुत गर्न थालेका छन्। गठबन्धन भयो भने पालुङ्गटार नगरपालिका मेयरमा माओवादी केन्द्रले पाउने चर्चासंगै आकांक्षीहरुले दावी प्रस्तुत गर्न थालेका हुन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा पालुङ्गटारमा नेपाली कांग्रेसका उम्मेद्वार दिपक बाबु कँडेल बिजयी भएका थिए भने उप-मेयरमा पम्फा बसेल माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्। अहिले गोरखा नगरपालिका कांग्रेसलाई छाडेर पालुङ्गटार नगरपालिका माओवादी केन्द्रको हातमा पार्न माओवादीका जिल्ला नेताहरु लागिपरेका छन्।

गठबन्धन बने जित निश्चित हुने भएसंगै पालुङ्गटारमा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवार दाबी गर्नेको लामै सूची बनेको स्थानीय नेता/कार्यकर्ताविच चर्चा छ । माओवादीको तर्फबाट पालुङ्गटार नगरपालिका सम्भावित मेयरको उम्मेदवारको रूपमा अहिलेसम्म ४ जनाले आकांक्षा देखाएका छन् ।

माओवादीबाट विवस चिन्तन अजय, इन्द्रराज भट्टराई, विकास वाग्ले र पम्फा बसेलको मेयरको उम्मेदवारका आकांक्षीका रूपमा चर्चा हुन थालेको छ । उनीहरुले मेयरको उमेद्वारको रुपमा आफुलाई आघि सारेका छन्। उनीहरुले पार्टीको बिभिन्न फोरममा आफु पालुङ्गटारको मेयरमा लड्ने कुरा बताउदै आएका छन्।

विवस चिन्तन ‘अजय’

विवस चिन्तन अजय नेकपा माओवादी केन्द्र पालुङ्गटारका नवनिर्वाचित अध्यक्ष हुन् । २०७४ सालको निर्वाचनमा उनी मेयरमा चुनाव लडेका थिए । उनले ४ हजार ४ सय ९१ मत प्राप्त गरेका थिए । मेयरमा बिजयी भएका कांग्रेसका दिपक बाबु कँडेल ४ हजार ६ सय ९८ मतका प्राप्त गरेका थिए । जनयुद्धमा सहभागी भएका अजय लामो समयदेखि निरन्तर राजनीतिमा सक्रिय रहदै आएका छन्।

अघिल्लो स्थानिय निर्वाचनमा पाराजित उनी यसपटक पनि मेयरमा चुनाव लड्ने तयारीमा छन्। तत्कालिन नयाँ शक्तिका कारण आफुले झिनो मतले निर्वाचनमा पराजित हुनुपरेको बताउदै उनले यसपटक आफुले जित्ने दावी गरेका छन् । निर्वाचनमा पराजित भए पनि अजय निरन्तर पालुङ्गटारवासीको सेवामा सक्रिय रहदै आएका छन्। सहयोगी भावना भएका उनी जनताको काम भनेपछि हुरुक्क हुन्छन्।

इन्द्रराज भट्टराई

गोरखाको पालुङटार नगरपालिकाको मेयरमा माओवादीका तर्फबाट इन्द्रराज भट्टराई बलियो दाबेदारका रुपमा देखिएका छन् । उनले आफ्नो पक्षमा माहोल बनाउन नेताहरूसंगको भेटघाटलाई तीव्र पारेका छन् । माओवादी केन्द्र प्रवास समिति सदस्य समेत रहेका भट्टराई लामो समयदेखि माओवादी आन्दोलनमा सक्रिय रहदै आएका छन् ।

राजनीतिसंगै सामाजिक अभियन्ताको समेत पहिचान बनाएका भट्टराईको माओवादी केन्द्रका केन्द्रिय नेताहरुसंग निकट भएर काम गर्दै आएका छन् । उनलाई पालुङटार मेयरमा उम्मेद्बार बनाउन केन्द्रिय नेतानै लागिपरेको उनी निकटहरु बताउँछन् ।

‘म पालुङटार मेयरका लागि योग्य उम्मेदवार हुँ । पार्टीका साथीहरूलाई पनि जानकारी गराइसकेको छु । यस विषयमा पार्टी भित्र छलफल जारी छ । अन्य साथीहरूले पनि आकांक्षा राख्नु भएको छ । पार्टीले जे निर्णय गर्छ त्यो हामी सबैले मान्नु पर्छ’, उनले भने ।

पम्फा बसेल

नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य एवम् पालुङटार नगरपालिकाको उप-मेयर समेत रहेकी पम्फा बसेल सानै उमेरदेखि राजनीतिमा सक्रिय रहदै आएकी छिन्। सानै उमेरमा जनयुद्धमा सहभागी भएकी बसेलले आफुलाई पालुङटार नगरपालिकाको मेयरको रुपमा अघि सारेकी छिन्। उप-मेयर भएर जेजति काम गर्या त्यो भन्दा अझ राम्रो गरेर देखाउन आफुले मेयरमा उम्मेद्वारी दिन लागेको बसेल बताउछिन्।

विकास वाग्ले

पेशाले इन्जिनियर रहेका विकास वाग्लेले आफुलाई पालुङटारको मेयरको उम्मेदवारको रुपमा आघि सार्दै आएका छन् । शहिद परिवार समेत रहेका वाग्ले निरन्तर माओवादी पार्टीको राजनीतिमा सक्रिय रहदै आएका छन्। पार्टीको भूगोल कमिटिदेखि पेशागत संगठनमा सक्रिय वाग्लेलाई पार्टीको सस्थापन पक्षको साथ रहेको चर्चा जिल्लामा चल्ने गरेको छ।

काममा खट्ने सक्ने, मिलनसार क्षमता भएका वाग्ले पार्टीले जिम्मेवारी दिए आफू मेयरको उम्मेदवार बन्न तयार रहेको बताउँछ । मेयरमा आफ्नो पूर्णदावी रहेको समेत उनले बताएका छन्। उनले आफु पार्टीको निर्णय अनुसार अगाडि बढ्ने समेत बताए । मेयरको टिकटका लागि भन्दा पनि पालुङटार नगरपालिकामा पार्टीलाई कसरी जिताउने भन्नेमा आफ्नो ध्यान रहेको उनको भनाई छ ।

उनी भन्छन्, ‘पार्टीले जे निर्णय गर्छ म त्यही गर्छु । यहाँ अहिले आकाङ्क्षी धेरै हुनुहुन्छ । पार्टीले जसलाई योग्य ठान्छ । त्यही उम्मेदवार बन्छ । पार्टीले मलाई योग्य ठान्यो भने पछि हट्दिन । अहिले हामी मेयरको टिकट पाउनका लागि भन्दा पनि नगरपालिकामा पार्टीलाई कसरी पहिलो पाटी बनाउने भनेर लागि परेका छौँ ।’ gand6`

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.